इन्डोनेसियाले जाकार्ताबाट राजधानी सार्ने

0
Shares

जाकार्ता (एजेन्सी)
इन्डोनेसिया आफनो राजधानी जाकार्ताबाट अन्तै सार्न सक्ने इन्डोनेसियाका योजना मन्त्रीले घोषणा गरेका छन् । मन्त्री बमबेंग ब्रोजेनेगोरोले राष्ट्रपति जोको विडोडोले एक महत्वपुर्ण फैसलमा राजधानी अर्को ठाउमा सार्ने बताएको जानकारी दिए ।

नयाँ राजधानी कुन स्थानलाई बनाउने हो भन्ने विषयमा कुनै जानकारी दिएको छैन । जाकार्ता करिब एक करोड आवादीको वासस्थान रहेको छ । तर इन्डोनेसियाको यो बर्तमान राजधानी विश्वमा सबैभन्दा तिब्र गतिमा डुबिरहेका सहर मध्यका एक हो ।

वास्तवमा इन्डोनेसिया दलदल जमीनको किनारामा बनेको देश हो । यहाँ १३ वटा नदि एक अर्कालाई काटेर गइरहेका छन् ।

सोधकर्ताहरु अनुसार यस सहरको ठुलो हिस्सा सन् २०५० सम्म डुब्न सक्छ । उत्तरी जाकार्ता हरेक बर्ष औषत १ देखि १५ सेन्टिमिटर डबिरहेको छ । आधा जाकार्ता समुद्रको सतह भन्दा तल पर्छ । त्यहाँ पिउने तथा नुहाउन प्रयोग हुने भुमिगत पानीको अत्यधिक प्रयोग यसको प्रमुख कारण बनेको छ ।

सन् २०१६ को एक सर्वेक्षणले महानगर जाकार्ताको ट्राफिक विश्वको सबैभन्दा खराब रहेको देखाएको छ । सरकार र मन्त्रीलाई बैठकमा समयमा पुग्नका लागि प्रहरीको मद्दत लिनु पर्छ । योजना मन्त्रीका अनुसार जाकार्ताको ट्राफिकका कारण अर्थब्यवस्थालाई प्रत्येक वर्ष ६ अर्ब ८० करोड डलर नोक्सान भइरहेको छ ।

राजधानी ब्यवस्थापनका विभिन्न विकल्पमा कुनै अर्को टापुमा नयाँ राजधानी स्थापित गर्ने राष्ट्रपतिले योजनामा स्विकृती दिएको जनाइएको छ । समाचारमा पलानकोरालाई इन्डोनेसियाको नयाँ राजधानी बनाउन सकिने उल्लखे गरिएको छ तर पलानकोरायाका वासिन्दाले यस मुद्दामा मिश्रित प्रतिक्रिया दिएका छन् ।
योजना मन्त्री ब्रोजेनेगोरोले यस प्रक्रियालाई १० बर्ष लाग्न सक्ने बताए । यदि अरु देशले यो गर्न सक्छ भने इन्डोनेसियाले पनि गर्न सक्ने उनले बताए । ब्राजिल, कजाखस्तान, म्यान्मारले राजधानी सारेको उदाहरण उनले दिए ।

राष्ट्रपति विडोडोले पुरै देशको सबै क्षेत्रमा आर्थिक प्रगति गर्ने प्रतिबद्धता ब्यक्त गरिरहँदा राजधानी सार्ने घोषणा भएको हो ।