उपभोक्तालाई एक करोड लिटर पिउने पानी


हेटौँडा ।
प्रदेश ३ हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडामा दैनिक एक करोड ३० लाख लिटर प्रशोधित पिउने पानीको सङ्कलन गर्ने गरेको छ ।

हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा स्थानीय उपभोक्तालाई अहिले दैनिक एक करोड ८ लाख लिटर प्रशोधित पिउने पानी वितरण गर्दै आएको सो कार्यालयले जनाएको छ । वर्षातको मौसममा एक करोड ४० लाख लिटर पिउने पानी सङ्कलन हुने गरेको बताइएको छ ।

उपमहानगरपालिका– १, २, ४, ५, ६, ७, ८, ९, १०, १४, १५, १६ र १७ वडाका बासिन्दालाई प्रशोधित पानी दैनिक उपलब्ध गराउँदै आएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । यसैगरी उपमहानगरपालिका–३, ११, १२, १३, १८ र १९ वडामा स्थानीय उपभोक्ता समितिमार्फत खानेपानी आयोजना निर्माण गरी स्थानीय उपभोक्तालाई प्रशोधित पिउने पानीको छुट्टाछुट्टै व्यवस्थापन गरी वितरण गरिँदै आएको छ ।

हेटौँडा उपमहानगरपालिकाको साथै तत्कालीन हटिया, हर्नामाडी, पद्मपोखरी, चुरियामाई र बसामाडी गाउँपालिकालाई एकीकृत गरी हाल हेटौँडा उपमहानगरपालिकाको ११ वडाबाट विस्तारित गरेर १९ वडा कायम गरी उक्त उपमहानगरपालिकाबाट दैनिक स्थानीय उपभोक्तालाई खानेपानीलगायत अन्य विकासका सुविधा उपलब्ध गराउँदै आएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताउनुभयो ।

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडाको विभिन्न वडामा हाल २३ डिप बोरिङ र भीमफेदी गाउँपालिका–१ बुङ्दलस्थित खानेपानीको ट्याङकीबाट पानी सङ्कलन गरी हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा प्रशोधित पानी वितरण गर्ने योजना अघि बढाइएको छ । हाल हेटौँडा उपमहानगरपालिकाअन्तर्गतका वडामा जम्मा १७ हजार २१४ धारा वितरण गरिएको व्यवस्थापन बोर्डले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकामा बढ्ढो जनसङ्ख्याको चापलाई हेरी थप पिउने पानी आपूर्ति गर्न समस्या बढ्दै गएकाले प्रदेश ३ सरकारको लगानीमा आगामी दुई वर्षभित्र विभिन्न वडामा चार डिप बोरिङ र चार खानेपानीको ट््याङकी निर्माण गर्ने क्रममा सर्भे सम्पन्न भएको छ । आगामी आव २०७६÷७७ मा बजेट विनियोजन गरिने हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका प्रमुख अधिकृत सुदर्शन ढकालले बताउनुभयो । हाल हेटौँडा नगर क्षेत्रका एक लाख ५० हजार जनसङ्ख्यालाई हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले छुट्टै पिउने पानी दैनिक आपूर्ति गर्दै आएको छ ।
रासस