दाइजोको निहुँमा कुटिए श्रीमतीसहित माइती


हेटौंडा ।
हेटौंडामा दाइजोको निहुँमा पत्नीलगायत माइती पक्ष कुटिएका छन् । मुस्लिम परिवारकी २५ वर्षीया सोनम खान (नाम परिवर्तन) ले पतिले दाइजोको निहुँमा कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्धा दर्ता गर्नुभएको हो ।

मंगलबार विहान करिब ११ बजे हेटौंडा—५ स्थित जीएस निकेतन चोकमा ३० वर्षीय पति रामलाल खान (नाम परिर्वतन) ले उनीलगायत दाजु, बाबु र आमालाई रगताम्य हुने गरी कुटपिट गरेका हुन् । पीडित पक्षले पीडकको नाम सार्वजनिक गर्न चाहेन ।

२०६९ सालमा बीरगञ्जबाट वैवाहिक जीवनमा बाँधिएर हेटौंडा आउनुभएकी खान भन्नुहुन्छ–पाँच वर्षसम्म त सम्बन्ध राम्रो थियो । त्यसबीच छोरा जन्मियो । माइतीबाट पैसा पठाउन छाड्नु भएपछि दुई वर्षयता हाम्रो सम्बन्ध बिगँ्रदै गयो । ‘पाँच वर्षसम्म विवाहको खर्चबाहेक हालसम्म २० लाख रुपियाँ जति त लिइसक्नु भयो । तर, उहाँलाई त्यतिले पुगेन,’ उहाँले गुनासो गर्नुभयो ।

पीडित खानका भाइका अनुसार दाइजोका रुपमा हेटौंडामा घर बनाइएको छ । बेलाबेलामा पैसा पनि दिइरहेकै छ । ‘पछि हामीले सक्दै नसक्ने भएपछि दिन छाड्यौं, दिन छाडेपछि दिदीलाई दुःख दिन थालेका छन् । हामी दिदीको घर मिलाउन पटकपटक पैसा दिन बाध्य भयौं । तर, सक्दै नसकेपछि त कसको के लाग्छ र,’ उहाँले भन्नुभयो ।

सोमबार बेलुका पीडित खानलाई पतिले कुटपिट गरेपश्चात् उहाँले विहान बीरगञ्जबाट माइतीपक्षलाई बोलाउनुभएको थियो । भाइ, बाबु र आमा हेटौंडा आउनुभएको थियो । पीडितका अनुसार पीडक ज्वार्इंलाई सम्झाउने क्रममा चारै जनालाई कुटपिट गरिएको हो ।

त्यही क्रममा प्रत्यक्षदर्शीले वडा प्रहरी कार्यालयलाई खबर गरेपछि प्रहरीले उनलाई तत्काल जिल्ला प्रहरी कार्यालय मकवानपुरको जिम्मा लगाएको वडा प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

पीडक हिरासतमा रहेको प्रहरी भनाइ छ । उनलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुरमा मुद्धाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।