बालुवा चाल्ने अधिकाँश मजदुरमा पेट र ढाँडको समस्या


पर्वत ।
कालीगण्डकी किनारमा बालुवा चाल्ने अधिकाँश मजदुरमा ढाड र पेट दुख्ने समस्या देखिएको छ ।
दिनभर नदी किनारमा भारी बोक्ने, बालुवा चाल्ने लगायतका काम गर्ने र फोहोर स्थान वरपर बस्ने गरेका कारण मज्दुरहरुमा पेट र ढाड दुख्ने समस्या देखिएको हो ।

बिश्व श्रमिक दिवसको अवसर पारेर पर्वतको कुस्मा नगरपालिका १ मालढुंगामा सञ्चालित स्वास्थ्य शिबीरमा श्रमिकको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य शिबीरमा श्रमिक र बालबालिका गरि १ सय ५० जना भन्दा बढीको स्वास्थ्य परिक्षणका क्रममा धेरै जनामा ढाँड, घुँडा र पेटको समस्या भेटिएको चिकित्सकले जनाएका छन । ‘अधिकाँश मज्दुरमा पेट र ढाँडको समस्या बढी देखियो’ स्वास्थ्य परिक्षणमा संलग्न पर्वत अस्पतालका चिकित्सक डा. बिष्णु भण्डारीले भन्नुभयो ‘भारी बोक्ने, खानपान तथा सरसफाईमा पर्याप्त ध्यान नपुग्ने भएकाले यस्ता समस्या देखिएका हुन्’ उहाँले भन्नुभयो ।

शिबीरमा स्वास्थ्य परिक्षण गरिएका मज्दुरका बालबालिकामा भने रुघाखोकी, टाउको दुख्ने लगायतका समस्या बढी देखिएका छन । गर्मी याम र बस्ती नजिक सुंगुरपालन गर्ने भएकाले बालबालिकामा यस्ता समस्या देखिएको चिकित्सकको भनाई छ । सरसफाईमा ध्यान दिने, आराम गर्ने बानी बसालेमा यस्ता समस्याबाट धेरै हद सम्म मुक्त हुन सकिने चिकित्सक डा. भण्डारीको भनाई छ ।

नेपाल टे«ड युनियन महासंघ(जिफन्ट) र अखिल नेपाल ट्रेड युनियन महासंघ को आयोजना र पर्वत अस्पतालको सहयोगमा स्वास्थ्य शिबीर सञ्चालन गरिएको थियो । शिबीर उद्घाटन कार्यक्रममा पर्वत अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडीले मजदुरको बस्तीमा नै पुगेर स्वास्थ्य परिक्षण गरिएको बताउँदै खानपान र सरसफाईमा ध्यान दिन मज्दुरलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा कुस्मा नगरपालिका वडा नं १ का अध्यक्ष देबेन्द्र सुबेदी, पर्वत अस्पतालका चिकित्सक डा. बिष्णु भण्डारी, जिफन्ट पर्वतकी अध्यक्ष खगेश्वरी शर्मा, बिन्दु श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।