श्रीमतीको हत्यामा सजाय पाएपछि झुण्डिएर आत्महत्या


चिरञ्जीवी मास्के, दोलखा ।
श्रीमतीको हत्या आरोप लागेका दोलखा जिरी नगरपालिका वडा नम्बर ९ ठूलोपातलका ३८ बर्षिय तस्विर तमाङले २५ बर्षको कैद सजाय पाए लगतै कारागार भित्रै झुण्डीएर आत्महत्या गरेका छन् ।

श्रीमतीको हत्या गरेको आरोपमा गत २०७५ साल मंसिर १२ गते पक्राउ परेका तस्विरलाई मंगलवार जिल्ला अदालत दोलखाले कतव्र्य ज्यान मुद्दामा २५ बर्षको कैद सजाय सुनाएको थियो । तमाङले गत २०७५ साल मंसिर १० गते घरायसी विवादमा दाउराको चिर्पटले हिर्काएर ३३ बर्षिय श्रीमती राममाया तमाङको हत्या गरेका थिए । श्रीमतीको हत्या गरी फरार रहेका तस्विरलाई प्रहरीले मंसिर १२ गते रामेछापको मन्थलीबाट पक्राउ गरी ल्याएको थियो भने पुष ५ गते उनलाई पुर्पक्षको लागि चरिकोट कारागारमा थुनामा राखिएको थियो ।

मंगलवार मध्यान्न १२ः ४५ बजेतिर सौचालय छिरेका तस्विर निक्कै बेर ननिस्केपछि ढोकाको प्वालबाट हेर्दा इजारको पासो लगाएर झ्यालको ग्रीलमा झुण्डिएर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।

घट्ना लगतै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, प्रहरी नायव उपरीक्षक बासुदेव पाठक, शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक किरणकुमार कठाएत, भीमेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी, तस्विर तमाङको जेठि छोरी अस्मिता तमाङ र पत्रकारहरु कारागार पुगेका थिए ।

गत २०७५ माघमा पनि श्रीमतीको हत्या गरेको आरोपमा चरिकोट कारागारमा थुनामा रहेका दोलखा कालिञ्चोक गाँउपालिकाका च्याङा शेर्पाले पनि कारागारको सौचालयमा झुण्डिएर आत्महत्या गरेका थिए ।