वडा कार्यालयमा भएको राजश्व रकम चोरी


सरिता चलाउने, सल्यान ।
सल्यानमा वडा कार्यलयको राजश्व रकम चोरी भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ बरलामा रहेको कार्यालयमा सोमबार राति राजश्व चोरी भएको हो । राती ताला फोरेर चोरी भएको वडा अध्यक्ष भिखराज बुढाथोकीले बताउनु भएको छ ।

राजश्वबाट उठेको रकम करिब २२ हजार जति कार्यालयमा रहेको र रातको समयमा ताला फोडेर सो रकम चोरी भएको अध्यक्ष बुढाथोकीले जानकारी दिनु भएको छ ।

यसैबिच त्यसैगरी आइतबार राती नै शारदा नगरपालिकाको वडा नम्बर ७ कजेरीमा पनि ४ वटा घर र पसल चोरी भएका छन् । स्थानीय टेक बहादुर बोहराको घरमा बाकस फोडेर १ लाख ३० हजार नगद चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अर्का स्थानीय पुनराम रेउलेको पसलमा ५० हजार नगद र १० हजारका रिचार्ज कार्ड चोरी भएको छ ।

मान बहादुर बस्नेतको घरबाट बाकस फोडेर ३२ हजार नगद र खुत्रुकीमा राखेको २० हजार, सिता खड्काको घरबाट झोलामा रहेको नगर ३ हजार चोरी भएको प्रहरीले बताएको छ । त्यस्तै वडा कार्यालय नजिकै भट्टाचौरमा रहेको मनिराम खत्रीको पसलबाट १० हजार ५ सय र मोबाइल पनि चोरी भएकोे प्रहरीले जनाएको छ ।