तीन प्रदेशका चार जिल्लाको समन्वय बैठक


धनवीर दाहाल, रुकुम ।
तिन प्रदेशका चार जिल्लाको समन्वयात्मक बैठकले शान्ति सुरुक्षालाई मजबुत बनाउनका लागी चार जिल्लाका सुरक्षा प्रमुखको समन्वय बढाउने निर्णय गरेको छ । प्रदेश ५ को रुकुम पूर्व र रोल्पा, गण्डकी प्रदेशको बाग्लुङ तथा कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरुको आपसी समन्वय बढाइने भएको छ ।

सीमाना जोडिएका यी चारजिल्लाका सुरक्षा प्रमुखहरुको रोल्पाको थवाङमा बसेको बैठकले शान्ति सुरक्षा लगायतका विषयमा समन्वय र सहकार्यलाई बढाउने निर्णय गरिएको हो ।

नेपाल सरकारबाट हालै भएको निर्णयको सबै सुरक्षा निकायले समन्वय गरी प्रभावकारी कार्यान्वयन गरी सुरक्षा स्थिति मजबुत बनाउने विषयमा बैठकमा छलफल भएको छ । त्यस्तै लागु औषध, वन्यजन्तु र जडिबुटिको अवैध कारोबारमा संलग्नलाई सबै सुरक्षा निकायहरुले समन्वय गरी सूचना आदान प्रदान गर्दै त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने निर्णय गरिएको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

यी जिल्लाहरु भएर जाने मध्यपहाडी लोकमार्ग लगायतका सडकहरुमा कसैले अवरोध गरेमा वा बाढी पहिरोले अवरोध भएमा आ–आफ्नो क्षेत्रबाट परिचालित भएर समन्वय गर्दै तत्काल अवरोध हटाउने निर्णय समेत गरिएको उहाँले बताउनुभयो । यस क्षेत्रमा जुनसुकै विपत् आएमा पनि तत्काल आफ्नो क्षेत्रबाट परिचालिन हुने र जिल्लाको सबै सुरक्षा निकायसँग समन्वय गरी उद्दार तथा अन्य सहयोग गर्ने बताइएको छ ।

एउटै जिल्लाले गर्दा नहुने र सबै जिल्लाको समन्वयमा कतिपय महत्वपूर्ण काम हुने भएकोले सहकार्यलाई बढाउँदै काम गर्दा प्रभावकारी हुने विश्वास गरिएको छ । बैठकमा रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी रेग्मी, रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी र बाग्लुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल तथा नेपाली सेना, राष्ट्रिय अनुसन्धान, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जिल्ला प्रमुखहरुको सहभागिता रहेको थियो । यसअघि पनि रुकुम पश्चिम, सल्यान र जाजरकोट जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक चौरजहारीमा सम्पन्न गरी विभिन्न निर्णय गरिएको थियो ।