स्वास्थ्य चौकीको फोहोर व्यवस्थापन गरिने


धनवीर दाहाल, रुकुम ।
जिल्लाको भूमे गाउँपालिका –६ महत स्थित स्वास्थ्य चौकीको फोहोर व्यवस्थापनका लागि खाल्डाहरु निर्माण गरिने भएको छ । यहाँबाट उत्पादन हुने विभिन्न फोहोरहरुको उचित व्यवस्थापन गर्न छुट्टाछुट्टै खाल्डाहरु निर्माण गर्न थालिएको हो ।

स्वास्थ्य चौकीको फोहोर व्यवस्थापन गरी सरसफाईयुक्त वातावरण निर्माण गर्नका लागि स्वच्छता परियोजनाको ९ लाख ९ हजार रुपैयाँ र भूमे गाउँपालिकाको ६ लाख ९३ हजार गरी कूल १६ लाख दुईहजार रुपैयाँ लगानीमा शौचालय निर्माण, खानेपानीको व्यवस्थापन र विभिन्न खाल्डाहरु निर्माण हुन लागेको स्वास्थ्य चौकीले जनाएको छ ।

स्वास्थ्य चौकीमा पूरानो शौचालय एउटा मात्र भएकोले महिला पुरुषको छुट्टाछुट्टै शौचालय निर्माण गर्ने, पहिलेको फोहोर सबै एकैठाउँमा फाल्ने गरेकोमा अब फरक फरक क्षेत्र निर्माण गर्ने र गाउँमा गएको लाइनबाट खानेपानीको नयाँ पाइप जडान गर्ने काम गरिने स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडाध्यक्ष देवबहादुर बुढाले बताउनुभयो ।

खानेपानीको नयाँ लाइन ल्याएर सबैकोठामा हातधुनको लागि सहायक लाइन दिने र क्लोरिन सहितको शुद्ध खानेपानी व्यवस्थापन गरिने, बर्थिङ सेन्टरबाट आएका फोहोरहरु सालनाल फाल्न प्लासेन्टा पिट, ड्रेसिङबाट आउने फोहोरहरु कटन, गजपिस फाल्न व्यूरेल पिट र हात धोएको पानी निकास गर्ने सोकपिटहरु निर्माणका लागि आफूहरुले स्वास्थ्य चौकीलाई सहयोग गरेको स्वच्छता परियोजनाका प्राविधिक कृष्णमोहन खड्काले बताउनुभयो ।

त्यस्तै कुहिने फोहोर फाल्नका लागि कम्पोष्ट विन र सुई तथा सीसाहरु व्यवस्थापनका लागि उपकरण समेत सहयोग गर्ने उहाँको भनाई छ । परियोजना मार्फत यसवर्ष ४ वटा अर्को वर्ष ४ वटा गरी रुकुम पूर्वका ८ वटा स्वास्थ्य चौकीहरुमा यो कार्यक्रम सञ्चालन गरेको बताइएको छ ।