गुल्मीको झाडापखाला र दाङको दादुरा सम्बन्धमा प्रदेश सरकारको चासो


पानीकोे मुहानमा कोलिफर्म भेटिएपछि प्रयोगमा रोक
यमलाल भुसाल, बुटवल ।
प्रदेश पाँचको सामाजिक विकास मन्त्रालय, गुल्मीको झाडापखाला र दाङको दादुरा सम्बन्धमा चासो देखाएर यर्थाथता सार्वजनिक गरेको छ ।
सामाजिक विकास मन्त्रालय ,जनस्वास्थ्य महाशाखाका अनुसार गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ दजाकोटको पानीकोे मुहानमा कोलिफर्मका कारण दुई हजार जनसंख्या झाडापखालाको प्रभावमा रहेको जनाएको छ् ।

महाशाखाका अनुसार उक्त गाउँको नुनखोलाको मुहानको पानीमा कोलिर्फमको मात्रा प्रशस्त भेटिएकाले नुन खोलाको मुहानबाट बग्ने पानी प्रयोगमा रोक लगाइएको मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरि जनाएको छ ।

झाडापखाला लागेका व्यक्तिको दिसा जाँच गर्दा ‘इन्टामोयबा हिस्टोलिटिका’ परजीवी भेटिएको र झाडापखालाका कारण दजाकोटका १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएकोछ ।

झाडापखालाका १९२ जना विरामी भई उपचाररत छन् । झाडापखालाका विरामीमध्ये ५९ वर्षीया कुमारी सिंजालीको चितवन मेडिकल कलेजमा, ६ जनाको गुल्मी अस्पतालमा र अन्यको स्थानीय एक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रभावित क्षेत्रमा स्वास्थ्य कार्यालय, गुल्मी अस्पताल र मुसिकोट नगरपालिकाको सहभागितामा रयापिड रेस्पोन्स टिम परिचालन गरिएको छ । पानी शुद्धीकरण गर्न ५ हजार चक्की क्लोरिन वितरण गरिएको र झाडापखाला नियन्त्रणमा आईसकेको मन्त्रालयले स्पष्ट पारेको छ ।
महाशाखाले रोग नियन्त्रण र व्यवस्थापनका लागि नमूना परीक्षण गर्न विश्व स्वास्थ्य संगठनका चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा परिचालन गरेको थियो ।

घटनाको यर्थाथता सहित प्रतिवेदन पेश गर्न लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल अधिकृत डा दुर्गा खत्रीको नेतृत्वमा स्वास्थ्य निर्देशनालयका हे.अ.कृष्ण यादव र गुल्मी अस्पतालका शिशिर सिलवाल सदस्य रहेको समिति गठन गरी घटनास्थलमा पठाइएको मन्त्रालयले जनाएको छ । यस्तै दाङको राजपुर ४ मा फैलिएको दादुरा पनि नियन्त्रणमा आइसकेको मन्त्रालयले जनाएको छ ।
राजपुरमा गत चैत २५ मा एक बालिकामा देखिएको दादुरा ९ देखि १४ वर्ष उमेरका ३७ जना बालबालिकामा फैलिएको थियो । अधिकांश बालबालिकाले दादुराविरुद्धको खोप नलगाएको भेटिएको मन्त्रालयले जनाएको छ ।

दादुरा संक्रमणको यर्थाथता सहित प्रतिवेदन पेश गर्न राप्ती प्रादेशिक अस्पताल दाङका मेडिकल अधिकृत डा. मिनचन्द्र अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।