महानगरको अनुगमनः सडकपेटी मिचेर राखिएका वस्तु नियन्त्रणमा


सरोज यादव, विराटनगर ।
चाडबाडका समयमा मात्रै अनुगमन गरिने भन्दै आलोचना खेप्दै आएको विराटनगर महानगरपालिकाले सडक पेटी मिचेर विक्रीकालागि राखिएका बस्तु नियन्त्रणमा लिएको छ । महानगरपालिकाको अनुगमन टोलीले सडक पेटीमा राखिएका फेन्सी सामाग्रीका साथै सडक नै अवरुद्ध हुने गरी राखिएका निर्माण सामाग्री समेत नियन्त्रणमा लिएको छ ।

सडकको पेटीमै बिक्रीका लागि सामाग्री राखेर ब्यापार गर्ने प्रबृतिलाई निरुत्साहित गर्न महानगरले मंगलबार नगरक्षेत्र भित्रका विभिन्न सडकहरुको अनुगमन गरेको हो । टोलीले नगरक्षेत्रको मुख्य बजारसहित कालोपत्रे र सडक पेटी निर्माण भइसकेका क्षेत्रहरुको अनुगमन गरेको छ । महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की,प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीसहित कर्मचारी र नगर रक्षकहरुको टोलीले स्थानीय जलजला मोड र बाटा रोडका सडक पेटीहरुको अनुगमन गरेको छ ।

अनुगमनको क्रममा कयौं ब्यापारीहरुले सडक पेटीमै सामाग्रि राखेर बिक्री गर्ने गरिएको भेटिएको छ । महानगरपालिकाले यसअघि पटकपटक माईकिंग गराएर तथा पसलपसलमा प्रतिनिधि पठाएर सडक पेटीमा सामाग्री नराख्न अनुरोध गरेपनि ब्यापारीहरुले अटेर गरेको अनुगमनको क्रममा फेला परेको थियो ।

बाटा रोडका कयौं ब्यापारीहरुले सडक पेटीमै सामाग्री राखेको फेला परेको नगर रक्षकहरुको टोलीले त्यस्ता बस्तु नियन्त्रणमा लिएको छ । महानगरपालिकाको टोलीले फुटपाथ अवरुद्ध गरेको भन्दै बाटा रोडको लक्ष्मी क्लोथ स्टोर र गिरधारि कपडा पसल लगायतका पसलहरुको फुटपाथमा राखिएका सामाग्री नियन्त्रणमा लिएको छ । महानगरपालिकाका उपप्रमुख इन्दीरा कार्कीले पटकपटकको सुचनालाई अटेर गरेपछि फुटपाथमा राखिएका सामाग्री नियन्त्रणमा लिएको बताउनुभयो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले महानगरलाई ब्यवस्थित गर्नु महानगरबासीको पहिलो कर्तब्य रहेको बताउनुभयोक । उहाँले पटक पटक सुचना दिएपनि केहि ब्यापारीहरुले नटेर्ने प्रबृति देखिएका कारण अब उपरान्त महानगरपालिका कडारुपमा प्रस्तुत हुने चेतावनी दिनुभयो । नियन्त्रणमा लिइएका सामाग्रीका धनीलाई नियमानुसारको जरिवाना गरिने उहाँले प्रष्ट पार्नुभयो ।

महानगरपालिकाको अनुगमन टोली बाटा रोड प्रवेश गरेपछि सडकपेटीमा सामाग्री राखेका ब्यापारीहरुबीच खैलाबैला मच्चिएको थियो । उनीहरु महानगरपालिकाको अनुगमन टोलीलाई छल्न पसलका कर्मचारी खटाएर फुटपाथमा राखिएका सामाग्री पसलभित्र ओसार्न भागदौड गरिरहेका देखिन्थे ।

सो ठांउका ब्यापारी गिरधारी अग्रवालले आफुहरुले अनुरोध गर्दागर्दैपनि अनुगमन टोलीले आफ्नो पसल अगाडीबाट २० हजार बढीको सामाग्री लिएर गएको गुनासो गर्नुभयो । उहाँले अरुहरुले पनि फुटपाथमै सामाग्री राख्ने गरेका कारण आफुले समेत राखेको प्रतिक्रिया दिनुभयो । महानगरपालिकाले सडकपेटी र बाटो निर्माण भैसकेको सडकहरुमा अनुगमनलाई निरन्तरता दिने जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समेत सहभागि गराएर अब उपरान्त नियमित सडक र फुटपाथको अनुगमन गरिने जनाइएको छ ।