वन डढेलो नियन्त्रण गर्ने औजार सशस्त्र प्रहरीलाई हस्तान्तरण

0
Shares

सरिता चलाउने, सल्यान
डिभिजन बन कार्यालय सल्यानले बन डढेलो नियन्त्रण गर्ने औजार हस्तान्तरण गरेको छ । सशस्त्र प्रहरी गुल्म लुहापिङ खलंगालाई बन डढेलो नियन्त्रण गर्ने बिभिन्न औजारहरु हस्तान्तरण गरेको हो । खडेरी शुरु भैसकेकाले यस समयमा हुन सक्ने सम्भावित आगलागीलाई निन्त्रण गर्न बिभिन्न औजार हस्तान्तरण गरिएको हो ।

पोशाक, जुत्ता, टर्च, साभेल, हेलमेट, ग्लोभ, मास्क, पानीको बोतल लगायतका औजारहरु हस्तान्तरण गरिएको छ । ती औजारहरु १ लाख ३२ हजार ७ सय २० रुपैँयामा खरिद गरिएको थियो । औजार हस्तान्तरण गर्दै डिभिजन बन कार्यालयका डिभिजनल बन अधिकृत थिर बहादुर कार्कीले वनमा आगलागीबाट बहुमूल्य जडीबुटी, काठका साथै वन्यजन्तुको वासस्थान नष्ट हुने भएकाले यसको संरक्षणको लागी यी औजार उपयोगी हुने बताउनुभयो ।

उहाँले जिल्लामा रहेका बिभिन्न वन समुहका पदाधिकारीलाई समूहभित्र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, नयाँ अग्निरेखा बनाउने, पुराना अग्निरेखाको सरसफाइ गर्ने लगाएतका बिषयमा निर्देशन दिईएको बताउनुभयो । साथै उहाँले वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि डिभिजन बन कार्यालयले बिभिन्न तरिकाले सहयोग गर्दै आएको बताउनुभयो ।

डढेलो नियन्त्रण गर्न वन कार्यालयले उपलव्ध गराएको औजारहरु उपयोगी रहेको सशस्त्र प्रहरी प्रमुख डिएसपी बिमल डाँगीले बताउनुभयो । वनमा लाग्ने विनाशकारी डढेलोको रोकथाम गर्न बन कार्यालयले उपलब्ध गराएका उपकरण उपयोगी हुने उहाँको भनाई छ । साथै उहाँले बन डढेलो नियन्त्रण सम्बन्धी जिल्लाका बिभिन्न सामुदायिक वनका पदाधिकारीलाई प्रशिक्षण प्रदान गरिने बताउनुभयो ।