नेपालको पहिलो सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
नेपालमा पहिलो पटक धुलिखेल नगरपालिकाका दुईवटा समुदायलाई पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ ।

धुलिखेल नगरपालिका वडा नम्वर १ देविटारको छाँगे र धुलिखेल नगरपालिका वडा नम्वर ११ पातलेखेतमा रहेको धिताल टोल खानेपानी उपभोत्ता समितिलाई पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ ।

नेपाल सरकार, धुलिखेल नगरपालिका, फिनल्याण्ड सरकार, सिविक फोरम र युनिसेफ नेपालको सहयोगमा देविटारको उक्त समुदायलाई पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको हो । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले देविटारको छाँगेलाई पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गर्दै नगरका अन्य भागमा पनि उक्त कार्यक्रम मोडलका रुपमा संचालन गरी एक घर एक घारा अभियानलाई आगामी तीन वर्ष भित्र सम्पन्न गर्ने बताउनु भयो ।

धुलिखेलको छाँगेमा सुरक्षित खानेपानी

‘खानेपानी मात्रै होईन सुरक्षित खानेपानीका लागि नगरपालिकाले विभिन्न क्षेत्रको सहयोगमा काम गरिरहेको छ’–नगरपालिका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘हामी दिगो विकासका लक्ष्यहरु अनुरुप सन् २०३० सम्ममा सम्पूर्ण जनसंख्यालाई सुरक्षित खानेपानीको सेवा पु¥याउन एक घर एक धाराको नीतिलाई समय भित्रै सम्पन्न गर्ने अभियानमा छौं ।’

छाँगेका ३० घरमा घरघर धारा जडान गरिएको छ । उक्त कार्यक्रममा नगरपालिका उपप्रमुख विमला शर्मा, फिनल्याण्ड दुतावासका यारी लुक्का, युनिसेफका तेमिडा अमाद, खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक मिना श्रेष्ठ, वडा अध्यक्ष रमेश घोरसाईने लगायतले सुरक्षित खानेपानीबाट उक्त समुदाय खुशी भएको बताउनु भयो । २ घर ब्राम्हाण र २८ घर तामाङ जातको समुदायले खोलाबाट पानी बोकेर ल्याउँदै जीवीका चलाउँदै आएको थियो ।

कुनै समुदाय सुरक्षित खानेपानी युक्त हुन सम्पूर्ण समुदायलाई सम्मिलित गरी सुरक्षित खानेपानीको योजना कार्यान्वयन गर्नुपर्छ । समुदाय खुल्ला दिसामुक्त भएको, खानेपानी संकलनका श्रोतहरु जनावार तथा मानिसको आवतजावत नहुने, सम्पूर्ण घरधुरीली सुधारिएको खानेपानीको स्रोत प्रयोग गरेको वा अन्य स्रोत भएपनि आवश्यक प्रशोधन गरिएको हुनु पर्छ ।