दजाकोटको झाडापखाला आंशिक रुपमा नियन्त्रणमा

0
Shares

नेपाल समाचारपत्र, गुल्मी
गत हप्तादेखि गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ४ दजाकोटमा फैलिएको झाडापखला आंशिक रुपमा नियन्त्रणमा आएको छ । आइतबारसम्म झाडापखलाका बिरामीहरु देखिए पनि सोमबार बिहानैदेखि नयाँ बिरामीहरु नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख श्रीकृष्ण भट्टराईले बताए ।

बिरामीहरुलाई लक्षित गरेर स्थानिय स्तरमै राखिएको स्वस्थ्य शिबिरमा बिहानै देखि थप कुनै पनि बिरामीहरु नआएको भट्टराईले बताए । सिङ्गो गाउँमा फैलिएको झाडा पखलाबाट आइतवारसम्म करिब २ सय जना बिरामी भएका थिए ।

झाडापखलाबाट दजाकोट ४ का १२ बर्षीय बालक रेशम सिंजालीको मृत्यु भएको छ । भने एक जनाको चितवन उपचार भइरहेको छ । गुल्मी अस्पतालमा उपचारत मध्ये सबै बिरामी निको भएर घर फर्किएको गुल्मी अस्पताल प्रमुख उत्तम पच्चाले बताए ।

प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यलय गुल्मी र गुल्मी अस्पतालका डाक्टरको अस्थायी स्वास्थ्य शिविरमा केहि दिनको लागि यथावत राखिने मुसिकोट नगरपालिका स्वस्थ्य संयोजक डिबी जिसीले बताए । एउटै मुलको पानी पिउने स्थानियहरुमा झाडापखला फैलिएको छ ।

पानी परिक्षण गर्दा दिसामा पाईने कोलिफर्म भेटिएको गुल्मी अस्पताल प्रमुख उत्तम पच्चाले बताए । सिङ्गो गाउँ नैै प्रभावित बनेपछि काठमाडौंबाट बिशेषज्ञ डक्टर सहित अनुसन्धान गर्न बिश्व स्वास्थ्य संगठनको समन्वयमा इपिडियोनोलोजि तथा रोग नियन्त्रण महाशाखाबाट टोलीले बिरामीले पिउने पानी र दिशाको नमुना लिएर फर्किएको छ ।

झाडापखला फैलिएको स्थानमा जिल्ला स्वस्थ्य कार्यालय गुल्मी, गुल्मी अस्पताल, मुसिकोट नगरपालिकाले सचेतना कार्यक्रम गरिरहेका छन् । प्रभावित क्षेत्रमा स्थानियलाई राखेर पानी उमालेर प्रयोग गर्न,हात मिचिमिची धुने लगायतका सल्लाह,सुझाव दिई विरामीसँग भेटघाट गरेर सचेतना कार्यक्रम गरिहेको संयोजक जिसीले बताए ।

झाडापखला प्रभावित क्षेत्रमा भैरहवाबाट खानेपानी तथा सरसफाइ कार्यालयबाट ल्याव सहितको टोली बिशेषज्ञ टोली गुल्मी आउँदै गरेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । ०७३ सालमा गाउँ नै ध्वस्त हुने गरि आगोलगी भएको र त्यस समयमा अरु प्रयोजनका लागि ल्याइएको पानी स्थानियले खानेपानीको लागि प्रयोग गर्दै आएका थिए ।

प्रभाबित क्षेत्रमा खानेपानीको समस्या भएपछि प्रत्येक घरलाई एक कार्टूनका दरले बोतलको पानी उपलब्ध गराएको मुसिकोट नगरपालिका नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए । नगरपालिकाले दैनिक ट्याकरबाट पनि पानी बितरण गरिरहेको सापकोटाले बताए ।