वेवारिसे मानवमुक्त भक्तपुर बनाउने अभियान सुरु

0
Shares

भक्तपुर,(नेस) । सडक बालबालिका र महिलाहरुको उद्धारमा सक्रिय मानव कल्याण समाज भक्तपुरले एक वर्षमा एक सय जनाभन्दा बढीको उद्धार गरेको छ । संस्थाले भाडाको घरमा पारिवारिक बातावरण सिर्जना गरी मानव सेवा गर्दै आएको छ । घरभाडामा मात्रै ४५ हजार रुपैयाँ मासिक खर्च भइरहेको संस्थाले जनाएको छ ।

बालबालिका, महिला र ज्येष्ठहरुको खाना, नाना, छाना, स्वास्थ्य, सुरक्षा र शिक्षाको बन्दोबस्तकालागि मासिक २ लाख ५० हजार रुपैयाँ खर्च हुने गरेको अध्यक्ष सुमित्रा चौलागाईले बताउनुभयो । समाजलाई गैरसरकारी संस्था महासंघ भक्तपुरले उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत समेत गरेको थियो ।

वेवारिसे मानवमुक्त भक्तपुर बनाउने उदेश्य सहित आफुहरुले अभियानकै रुपमा मानव उद्धार र सहयोग गर्दै आएको संस्थालाई सामाजिक भाव भएका व्यक्ति र संस्थाहरुले सहयोग गर्दै आएका छन् । उहाँले सबैको साथ पाए वेवारिसे मानवमुक्त भक्तपुर बनाउने अभियान सफल हुने दाबी गर्नुभयो ।

समाजले असक्त, अनाथ, अपाङ्ग, मानसिक सन्तुलन गुमाएका महिला र बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई सडकबाट उद्धार गरी सामुहिक घरमा राख्ने र पालनपोषण गर्दै आएको छ । स्थापनाको एक वर्षको अवधिमा समाजले भक्तपुरसहित काठमाडौँ, ललितपुर र काभ्रेका समेत गरी एक सय जनाभन्दा बढीको उद्धार गरिएको समाजका अध्यक्ष चौलागाईले बताउनुभयो ।

समाजले ४० जनालाई सडकबाट उद्धार गरी परिवारसँग पुनर्मिलन गराएको छ । अन्य १५ जना युवाहरुले समाजका आवद्ध भएपछि जीवन परिवर्तन गरी आत्मनिर्भर बनेर स्वेच्छाको जीवन बाँचेका छन् । यो अवधिमा पाँच जनाले भने सेवा घरमा रहँदा–रहँदै मृत्युवरण गरेका अध्यक्ष चौलागाईले बताउनुभयो ।

हाल सेवा घरमा ४० जना बालबालिका, महिला, अशक्त र अपाङ्गहरु रहेका छन् । जसमध्ये बालबालिका ९ जना, बोल्न नसक्ने ४ जना, दुवै गोडा नभएको १ जना, दुवै आँखा नदेख्ने १ जना, पक्षघातका विरामी २ जना, सुस्तमनस्थिति भएका २ जना, सामान्य अवस्थाका ३ जना र मनरोगी १९ जना रहेका छन् ।

समाजले पहिलो वर्ष पुरा गरेको अवसरमा यही बैशाख १८ गतेबाट साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाउने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै समाजका अध्यक्ष चौलागाईले बैशाख १८ गते उद्घाटन, १९ गते सडक अवलोकन र उद्धार, २० गते स्वास्थ्य शिविर, २१ गते मनोरन्जनात्मक कार्यक्रम, २२ गते रक्तदान, २३ गते मुठ्ठीदान संकलन अभियान र घरदैलो कार्यक्रम तथा अन्तिम दिन २४ गते सामुहिक दिप प्रज्वलन र समापन कार्यक्रम हुने जानकारी दिनुभयो ।