नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्यूटबीच सहमति

0
Shares

नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्यूटबीच सहमति
काठमाडौ(नेस) । नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्यूट आम सञ्चार अध्ययन शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न सहमत भएका छन् ।

विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्मा र नेपाल प्रेस इन्स्टिच्यूटका अध्यक्ष नीलकण्ठ उप्रेतीबीच उक्त सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
दुवै संस्थाबीच आउदो असोज भित्र स्नातक। स्नातकोत्तर तहको पहिलो सेमेष्टरको अध्ययन प्रारम्भ गर्नेसमेत सहमति भएको छ । उक्त अध्यनलाई स्नातक, स्नात्तकोत्तर हुँदै एमफिल र पिएचडीसम्म लगिने छ ।

पाठ्यक्रम निर्धारण
हाल स्नातक र स्नातकोत्तर स्तरका लागि पाठ्यक्रम विकास गर्ने काम भइरहेको छ । विश्वविद्यालय र इन्स्टिच्यूटबीच इन्ष्टिच्यूटको पनि प्रतिनिधित्व हुनेगरी विषय समिति निर्माण गर्ने, कोर्स डिजाइन गर्नेसमेत सहमति भएअनुसार काम थालिएको छ ।

इन्स्टिच्यूटले विश्वविद्यालयको नियम र प्रक्रियाको अधीनमा रही कोर्स सञ्चालन गर्नेछ । कोर्स सञ्चालन गर्न लाग्ने जनशक्ति र अन्य खर्च विश्वविद्यालयले व्यहोर्ने छ भने कोर्स सञ्चालन गर्न आवश्यक पर्ने स्रोत व्यक्ति इन्स्टिच्यूटले उपलव्ध गराउनेसमेत सहमति भएको छ ।
स्रोत व्यक्ति विश्वविद्यालयले तोकेको नियमको अधीनमा रहनुपर्ने व्यवस्था सहमतिमा उल्लेख गरिएको छ ।
विश्वविद्यालय र इन्स्टिच्यूटबीच विश्वविद्यालयका उपकुलपतिको संयोजकत्वमा विश्वविद्यालय र इन्स्टिच्यूटबाट तीन–तीनजना रहने एक संयुक्त संयोजन समिति गठन गरिनेछ । समितिको बैठक प्रत्येक बर्ष कम्तीमा दुईपटक बस्ने भएको छ ।
नेपाल खुला विश्वविद्यालयको प्राज्ञिक ज्ञान र नेपाल प्रेस इन्ष्टिच्यूटको आमसञ्चारसम्बन्धी प्रयोगात्मक ज्ञानको संयुक्त मिश्रणबाट दक्ष जनशक्तिको उत्पादन गर्नु यस सहमतिको उद्देश्य रहेको बताइएको छ ।

विविध कारणले प्रत्यक्ष कक्षामा सरिक हुन नसक्ने, नेपाल मात्र नभई विश्वको जुनसुकै कुनामा रहेका, जुनसुकै उमेरका व्यक्तिहरुलाई उनीहरुकै अनुकूल समय र गतिमा इन्टरनेटको माध्यमद्वारा अध्ययन पूरा गर्ने–गराउने कार्यक्रमको उद्देश्य रहेको बताइएको छ ।

भर्नाका लागि योग्यता
पत्रकारिता तथा आमसञ्चार संकायबाट माध्यमिक शिक्षा पूरा गरेकाले स्नातक र सोही संकायमा स्नातक गरेकाले स्नातकोत्तरमा भर्ना हुनसक्ने भएका छन् । तर, पूर्वतयारी कोर्स पूरा गर्ने कुनै पनि विषयमा माध्यमिक शिक्षा पूरा गरेका व्यक्ति स्नातक तहमा र सोही प्रक्रिया पूरा गरी स्नातकोत्तर तहमा भर्ना हुनसक्ने भएका छन् ।