कर्णाली–११ सेमिफाइनलमा

0
Shares

काठमाडौं, (नेस)
सुर्खेतमा जारी वाईवाई कर्णाली प्रिमियर लिगअन्तर्गत आयोजक कर्णाली–११ ले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

सोमबार विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै कर्णाली अन्तिम चारमा पुगेको हो । लगातार तेश्रो जित हासिल गर्दै आयोजक कर्णालीले समुह ’ए’ बाट अन्तिम चारमा प्रवेश गरेको थियो । अन्तिम चारका लागि अन्य ३ टिमको भने टुंगो लाग्न बाँकी रहेको छ।

खेलमा टस जितेर ब्याटिंग रोजेको कर्णालीले २० ओभरम ७ विकेट गुमाएर १ सय ५६ रनको योगफल तयार गरेको थियो । टोलीका लागि लोकेस बमले सर्वाधिक ५० रन बनाए ।

३० बलमा उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै प्रदिप रसाइलीले ३४, जितेन्द्र सिंह ठकुरीले ३० तथा कप्तान रबिन्द्र जंगशाहीले २३ रन योगदान दिए । आर्मीको बलिंगमा सुसन भारी एक्लैले ५ विकेट लिए भने जितेन्द्र मुखिया र कुशल मल्लले १–१ विकेट लिएका थिए ।

जवाफमा आर्मीले २० ओभर ब्याटिंग गरे पनि ८ विकेट गुमाएर १ सय ४५ रन मात्रै बनाउन सक्यो । आर्मीलाई लक्ष्यसम्म पुग्न नदिन कर्णालीका बलर कृष्ण कार्की र रबिन्द्र जंगशाहीले ३–३ विकेट लिए । किशोर महतो र जितेन्द्र सिंह ठकुरीले १–१ विकेट लिए।

आर्मीको लागि बिनोद भण्डारीले सर्वाधिक ५५ तथा हरि बहादुर चौहानले ३८ रन बनाए । बिनोदले ४२ बलमा ९ चौका र १ छक्का तथा हरिले ३७ बलमा ६ चौका प्रहार गरे । १५ ओभरमा ११२÷३ को स्थितिमा रहेको आर्मीले त्यसपछि लगातार विकेट गुमाएको थियो। बाँकी ५ ओभरमा आर्मीले २५ रन मात्रै बनाउन सक्यो भने थप ५ विकेट गुमाउन पुग्यो । प्लेयर अफ द म्याच कर्णालीका कप्तान रबिन्द्र जंगशाही घोषित भए।

यसअघि सम्पन्न पहिलो खेलमा महेन्द्रनगरले हिमालयन क्रिकेटलाई ५ रनले पराजित गरेको थियो । टस जितेर ब्याटिंग गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । १ सय ५२ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको हिमालयनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन मात्र जोड्न सकेको थियो ।

हिमालयनको ब्याटिंगमा पदम केसीले ५० तथादिपेन्द्र ऐरीले अविजित २९ रन जोडे पनि जितका लागि पर्याप्त भएन। महेन्द्रनगरको बलिंगतर्फ बिक्रम ठगुन्ना र आकाश चन्दले समान २–२ विकेट हात पारे।

यसअघि पहिले ब्याटिंग गरेको महेन्द्रनगरका लागि किरन ठगुन्नाले अविजित ४१ रन जोडेका थिए। यस्तै दिनेश आग्रीले व्यक्तिगत ३३ रनको योगदान गरे। हिमालयनको बलिंगमा शरद खड्काको नाममा २ विकेट रहेको थियो।