संसदको बजेट अधिवेशन: पहिलो दिनमै आरोप–प्रत्यारोप

0
Shares

गंगा बराल, काठमाडौं । संघीय संसदको वजेट अधिवेशन सोमबारदेखि आरोप–प्रत्यारोपबाट सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको बैठक आव्हान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त बैठक आव्हानसम्बन्धीको पत्र पढेर सुनाइएको थियो । त्यसपछि दुवै सदनमा दलका नेताहरुले शुभकामना मन्तव्य दिएका थिए । मन्तव्यका क्रममा सत्ता पक्षका सांसदले सरकारले राम्रो काम गरेकाले विपक्षी दलले पनि सहयोग गरेर जानुपर्ने धारणा राखेका थिए ।

विपक्षी पार्टीका सांसदले सरकार असफल भएको र जनताको चाहनाविपरीत गएको आरोप लगाए । सरकारमा सहभागी भएको संघीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्रप्रसाद श्रेष्ठले २ बूँदे सहमति गरेर सरकारमा गएको बताउँदै त्यसलाई वेवास्ता गरेको भन्दै आरोप लगाउनुभयो । श्रेष्ठले संविधान संशोधनको मागप्रति सरकारले ध्यान नदिए सरकारसँगको सम्बन्ध टुट्ने पनि चेतावनी दिनुभयो ।

गतवर्षको तुलनामा यो अधिवेशन १ साताअघि नै बोलाइएको छ । गतवर्ष बैशाख २३ गतेबाट मात्र बजेट अधिवेशन सुरु भएको थियो । यो अधिवेशनको सुरुमा प्रि–वजेट छलफल नहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २० गते (शुक्रबार) नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि नै प्रि–वजेट छलफल हुने र त्यसमा आएका सुझावलाई सरकारले समावेश गर्ने गरेको थियो । सरकारको नीति तथा कार्यक्रममा सरकारका योजना र कस्तो वजेट आउँछ भन्ने अनुमान लगाउन सजिलो हुनेछ ।

जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिक गर्नेछ । वजेट प्रस्तुत भइसकेपछि मन्त्रालयगत वजेटका बारेमा बिनियोजन विधेयकमाथि छलफल हुनेछ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कुहिरोमा हराएको कागको नियतिबाट बाहिर निस्केर सही मार्गमा अघि बढ्न सरकारलाई सुझाव दिनुभएको छ । देउवाले संविधानको मार्गदर्शन र आफूले गरेको प्रतिवद्धताअनुसार काम गरेर देखाउन सरकारलाई सुझाव दिनुभएको हो ।

देउवाले विकास निर्माणभन्दा पनि शक्ति केन्द्रीकृत गर्ने गलत अभ्यासमा प्रधानमन्त्री केपी शर्मा ओली लागेको आरोप लगाउनुभयो ।
उहाँले संविधान विपरित संबैधानिक अंगका अधिकार केन्द्रीकृत गर्ने प्रधानमन्त्रीको प्रयास सरकारकै लागि पनि प्रत्युत्पादक हुने चेतावनी दिनुभयो ।

उहा“ले संबैधानिक मूल्य मान्यता विपरित सबै अधिकार आफूमा केन्द्रीत गरेर मुलुकको विकास गर्न सक्छु भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । देउवाले बालुवाटारको सरकारीे जग्गा भूमाफियाको कब्जामा पुग्न लागेको तथ्य सार्वजनिक हु“दा पनि सरकार ढाकछोप गर्न लागिरहेकोमा आपत्ति जनाउँदै सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसकेको आरोप लगाउनुभयो ।

देउवाले विगतका सरकारले सम्पन्न गरेका योजनाहरु उद्घाटन गरेर आफैले सम्पन्न गरेको हो भनी झूठा प्रचार गर्न बाहेक सरकारले उल्लेखनीय काम गर्न नसकेको टिप्पणी गर्नुभयो । बारा, पर्सा, रौतहट, धनुषालगायतका जिल्लामा हावाहुरीको प्रकोपबाट प्रभावितलाई राहत र पुनस्र्थापनाको काम प्रभावकारी ढंगले हुन नसकेको भन्दै उहा“ले तत्काल राहत र पुनस्र्थापनाको व्यवस्था गर्न सरकारस“ग माग गर्नुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले परिणाम देखाउने गरी काम गर्नका लागि निरंकुशता विरुद्ध आन्दोलन गरेका शक्तिहरु एक ठाउ“मा उभिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले जनतालाई सकारात्मक परिणाम देखाउने गरी काम गर्नुको विकल्प नरहेको बताउँदै सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने उल्लेख गर्नुभयोे ।

पूर्व प्रधानमन्त्री तथा नया“ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले बालुवाटारको जग्गाबारे गम्भीरतापूर्वक छानविन गरी भ्रष्टाचारको जरो उखेल्ने काम गर्न सरकारलाई सुझाव दिनुभयो । बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा विगतका सरकारको नेतृत्व गरेका पूर्व प्रधानमन्त्रीहरुको पनि नाम जोडिएर आएको भन्दै उहा“ले छानविनबाट दोषी देखिए आफू दण्ड भोग्न तयार रहेको बताउनुभयो ।

डा.भट्टराई सार्वजनिक सम्पत्तिको दोहन, वाइडवडी प्रकरण, तारागाउ“, बुढीगण्डकी, बालुवाटारको ललिता निवासको सार्वजनिक जग्गाका विषयमा एक अर्कालाई आरोप– प्रत्यारोप गर्नुभन्दा जरो कारण खोतल्न आग्रह गर्नुभयो ।

उहा“ले संसद कहिलेकाही मणि हराएको नागजस्तो, कस्तुरी हराएको मृग जस्तो र नुन नहालेको सागजस्तो हुने गरेको भन्दै संसदको भूमिकालाई जीवन्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले सरकारले आफूलाई सडकमा धकेल्न खोजेको आरोप लगाउनुभयो । उहाँले मधेस आन्दोलनका क्रममा भएका घटनाबारे अध्ययन गर्न बनेको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभयो । संसदमा अरु दलका नेताले पनि शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्षता गर्ने सदस्यको मनोनयन
सभामुख कृष्णबहादुर महराले सभामुख र उपसभामुखको अनुपस्थितिमा संसद वैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गर्नुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको वैठकमा सभामुख महराले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उप नियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्नुभएको हो । मनोनयन गरिएका सदस्यमा उमाशंकर अरगरिया, डा. डिला संग्रौला पन्त, चन्द्रकान्त चौधरी, मानवबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, सोमप्रसाद पाण्डे र रेखा शर्मा हुनुहुन्छ ।
चारवटा शोक प्रस्ताव पारित प्र्रतिनिधिसभा र राष्ट्रियसभाको वैठकबाट चारवटा शोक प्रस्ताव पारित भएको छ ।

बैठकले २०४८ सालका राष्ट्रियसभा भिक्षु अश्वघोष, २०६४ सालको संविधानसभा सदस्य दिवाकर गोल्छा, २०४८ सालमा गुल्मी जिल्लाबाट निर्वाचित रुद्रमणि शर्मा भण्डारी र रुपन्देहीबाट २०४८ र २०५६ मा निर्वाचित रामकृष्ण ताम्राकारको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

भिक्षुको ९३ बर्षको उमेरमा चैत २२ गते, गोल्छाको ६७ बर्षको उमेरमा चैत २६ गते, भण्डारीको ७२ बर्षको उमेरमा चैत २८ गते तथा ताम्राकारको ७६ बर्षको उमेरमा वैशाख १० गते निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही वैशाख २० गते शुक्रवार अपरान्ह ६ बजे बस्ने छ । त्यसअघि ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । राष्ट्रियसभाको बैठक २० गते साढे ५ बजे बस्नेछ । दुबै सदनमा बैठकमा राष्ट्रपतिको सम्बोधनप्रति धन्यबाद ज्ञापन गर्ने कार्यक्रम छ ।