किशोरी छात्राका लागि विद्यालयमै सेनिटरी प्याड


दुर्गाप्रसाद शर्मा, पर्वत
छात्राहरुलाई महिनावारी हुँदा बिद्यालय जानै समस्या , त्यसमा पनि बिद्यालयमा पुगेपछि महिनावारी भएमा कक्षा छाडेर घर आउनुपर्ने बाध्यता थियो । महिनाबारी हुँदा धेरै छात्राहरु बिद्यालयमा नै नआउने समस्या देखिएपछि पर्वतको बिहादी गाउँपालिका वडा नं ५ उरामका युवा महिला र किशोरीहरु एउटा उपायको खोजी गरे । गएको तिहारमा गाउँमा किशोरीहरुले देउसी खेलेर रकम जम्मा गरेपछि बिद्यालयमा सेनिटरी प्याड उपलब्ध गराउन थालेका छन ।

उरामपोखरामा रहेको धौलागिरी युवा महिला समुहले स्थानिय चन्द्र माबिमा ६ देखि माथिका कक्षामा अध्ययन गर्दै आएका छात्राहरुका लागि सेनेटरी प्याड उपलब्ध गराउँदै आएको हो । ‘किशोरीहरुका समस्या माथि छलफल गर्दा सबैभन्दा बढी समस्या बिद्यालयमा जाने छात्राहरुले भोगेको देखियो’ युवा महिला समुहकी सचिब अस्मिता परियारले भन्नुभयो ‘आफैँ रकम जम्मा गरेर समस्या समाधानका लागि अग्रसर भयौ’ देउसीमा जम्मा भएको २५ हजार रुपैँयाले सेनिटरी प्याड खरिद गरेर बिद्यालयलाई हस्तान्तरण गरिएको छ। बिद्यालयमा १ सय जति छात्राले अध्ययन गर्छन । त्यस मध्ये आधा जसो बयस्क छन । ‘हेर्दा सामान्य लागेपनि हरेक महिना चार दिन पढाई छाड्नुपर्ने बाध्यता जस्तै थियो’ परियारले भन्नुभयो ‘अब छात्राहरु ढुक्कले बिद्यालय आउने जाने गर्न थालेकाछन’

बिद्यालयमा छात्र र छात्राका लागि छुट्टै शौचालयको ब्यबस्था भने छ । शौचालय ब्यबस्थित नभएका कारण अझै पनि समस्या भने बाँकी छन । तर बिद्यालयले महिला शिक्षिकाहरुको जिम्मामा सेनेटरी प्याड बितरण गर्ने र समस्या समाधान गर्दै आएको प्रधानाध्यापक लेखनाथ न्यौपानेले बताउनुभयो । ‘ छात्राहरुले असहज महसुस गर्दै आएको अवस्थामा बिद्यालयमा नै सेनेटरी प्याडको ब्यबस्था हुँदा सहज भएको छ ’ उहाँले भन्नुभयो ।

युवा महिला समुहमा १६ देखि ३० बर्ष उमेर समुहका युवा महिला सदस्य छन । उनीहरुले बिद्यालयमा सेनेटरी प्याड मात्रै होइन आफ्नै सहकारी संस्था समेत सञ्चालनमा ल्याएका छन । उरामपोखरा युवा महिला बचत तथा ऋण सहकारी संस्थामा मा १ सय ८० जना स्कुले छात्रा देखि बिबाहित युवा महिला सदस्य छन । उनीहरुले २ लाख रुपैंया बचत समेत संकलन गरेका छन । सहकारीबाट ऋण लगानी गरि युवा महिलाले ब्यबसाय समेत सञ्चालन गरि आफ्ना दैनिक आवश्यकता पुरा गर्ने र बचत समेत गर्दै आएको सहकारीकी सदस्य लक्ष्मी भुसालले बताउनुभयो ।

युवा महिलाको कामलाई वडाले समेत सहयोग गर्दै आएको र उनीहरुका लागि कम्युटर प्रशिक्षक समेत उपलब्ध गराएको वडा अध्यक्ष शेरबहादुर केसीले बताउनुभयो । युवा महिलालाई प्लान नेपाल र इन्प्रेड नेपालले समेत सहयोग र सहजीकरण गर्दै आएका छन ।