रोल्पा सदरमुकाममा बम विस्फोट


रोल्पा ।

रोल्पामा सोमबार बम बिस्फोट भएको छ । सदरमुकाम लिबाङ नजिकैको तित्रीकोट गाउँमा दिउँसो बम विस्फोट भएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार बजार क्षेत्र नजिक पर्ने रोल्पा नगरपालिका ४ स्थित तित्रीकोट छेउको जङ्गलमा बम पड्किदा ठुलो धमाका सुनिएको थियो भने धुवाँ समेत देखिएको थियो ।

दिउँसो सवा १ बजेतिर बम पड्केपछि प्रहरीले त्यस क्षेत्र नियन्त्रणमा लिएको छ । अज्ञात समूहले बम पड्काएको प्रहरीले जनाएको छ । विस्फोट गराउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल एक कार्यक्रमका लागि रोल्पा आएपछि त्यसको विरोध स्वरूप बम विस्फोट गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

लिबाङमा आइतबारदेखि सुरु भएको रोल्पा गुराँस साहित्य मेला कार्यक्रम पनि जारी छ ।

जलजला क्षेत्रको भ्रमण गर्ने समेत योजना रहेको उक्त कार्यत्रम तीन दिनसम्म चल्नेछ । कार्यक्रममा भाग लिन राजधानी लगायतका स्थानबाट आएका सहभागीहरू उक्त विस्फोटपछि आत्तिएका छन् ।