पाल्पामा जन्ती बोकेको जीप दुर्घटना, पाँच जनाको मृत्यु


यमलाल भुसाल, बुटवल ।
पाल्पाको निस्दी गाउँपालिकामा सोमबार जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ७ ज्यामिरेको चारघरेमा दिउँसो साढे ५ बजे जीप दुर्घटना भएको थियो ।

निस्दी गाउँपालिका वडा नम्बर ४ मित्याल भीरपानीबाट ज्यामिरेको हुवास जाँदै गर्दा लु १ ज १९४१ नम्बरको जीप भीरबाट खसेको हो । दुर्घटनामा ज्यामिरे हुवासका दुई, चारघरेका दुई र चालकसमेतको मृत्यु भएको स्थानीय नरबहादुर नेपालीले जानकारी दिनुभयो ।

दुर्घटनामा जीपका चालक बुद्धीबल थापा, चारघरेका ५२ वर्षीय खडगबहादुर सोमी र ५० वर्षीय देवीलाल खन्गाहा, हुवासका ४६ वर्षीया लालबहादुर सारु र ५० बर्षीय सन्तबहादुर सारु रहेका छन् । बाँकी दुई जनाको परिचय खुलेको छैन । दुर्घटनास्थल तानसेनबाट झण्डै ६० किलोमिटर पूर्वमा पर्छ । स्थानीय लालबहादुर बयम्बुका अनुसार दुर्घटनाग्रस्त जीप सडकबाट साढे तीनसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलका अनुसार इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी मित्यालबाट उद्धारका लागि खटिएका छन् । जीप बिहेका लागि निस्दीको मित्याल भीरपानीमा दुलाहादुलही छाडेर हुवास फर्कने क्रममा दुर्घटना भएको बताईएको छ ।