अदालतबाटै पक्राउ परे विप्लव इञ्चार्ज


हेटौंडा ।
नेकपा मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) लाई प्रहरीले अर्को मुद्धामा पक्राउ गरेको छ । नेपाल बन्दका दिन हेटौंडाको बस्तीपुरनजिक ट्रकमा पेट्रोल बम प्रहार गरेर चालक घाइते बनाएको आरोपमा पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

चैत २८ गते हातहतियार तथा विष्फोटक पदार्थ सम्बन्धि घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रउ सिंहका अनुसार बस्तीपुरबाट हेटौंडातर्फ आइरहेको ट्रकमा पेट्रोल बम प्रहार भएको थियो । जुन घटना विप्लव नेतृत्वको नेकपाले जिम्मा लिएको थियो । उहाँले भन्नुभयो–ज्वाला, विप्लव नेतृत्वको जिल्ला इञ्चार्ज हुन्, त्यसैले पक्राउ गरेका हौं ।

उहाँलाई अदालतले सोमबार दिउँसो करिब सवा १२ मा रिहा गरेको हो । रिहालगत्तै उहाँले पत्रकारसँग प्रतिक्रिया दिनुभएको थियो । उहाँले आफूलाई निकै मानसिक यातना दिइएको दाबी गर्नुभयो । उहाँले सरकारले बिनाकारण आफूलाई आपराधिक संगठन भन्दै व्याख्या गरेर झुटो मुद्धामा फसाउन लागेको बताउनुभयो ।

उहाँले संघर्षको बाटोमा केही चुनौती आउने तर त्यसको सामना गर्न आफूहरु तयार रहेको बताउनुभयो । जनताको टाउकोमा ऋण बोकाएर आफ्नो गल्ती लुकाउन खोज्ने सरकारविरुद्ध जनताले विद्रोह गर्ने उहाँले बताउनुभयो ।

उहाँले आफूहरु देश र जनताको सुखशान्ति र समृद्धिका लागि संघर्षमा रहेको दाबी गर्नुभयो । विप्लव नेतृत्वको नेकपाको गतिविधिलाई उच्च निगरानीमा राखिएको छ । आतंककारी गतिविधिमा संलग्न रहेको भन्दै सरकारले उक्त समूहको सबै प्रकारको गतिविधिलाई प्रतिवन्धित गरेको छ ।

करिब पौने १ बजेसम्म अदालतपरिसरको गेटबाहिर उहाँका आफन्त उहाँलाई भेट्न आएका थिए । उहाँ आफन्तसँग सामान्य कुराकानी गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

चैत २८ गते पक्राउ परेका ज्वाला सोमबार जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालयमा तोकिएको धरौटी र जरिवाना बुझाएर रिहा हुनुभएको थियो । धरौटी तथा जरिवाना बुझाएर बाहिर निस्कनासाथ प्रहरीले उहाँलाई पक्राउ गरेको हो । उहाँलाई प्रहरीले जिल्ला अदालतको गेटसम्म पनि आउन दिएन । धरौटी तथा जरिवानावापत् ६० हजार बुझाएर अदालतपरिसरबाट निस्कँदै गर्दा उहाँ पुनः पक्राउ पर्नुभएको हो ।

उहाँलाई सशस्त्र प्रहरी बलले हेटौंडा–८, फायरलाइनबाट पक्राउ गरेको थियो । पक्राउपछि ज्वालालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । उहाँलाई प्रहरीले चैत २९ गते हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धि अभियोग लगाएर अदालत पेश गरेको थियो ।

वैशाख २ मा धरौटीमा छाड्न अदालतले आदेश दिए पनि उहाँ पुनः पक्राउ हुने भएपछि धरौटी नबुझाई भीमफेदी कारागार जानुभएको थियो । जिल्ला अदालत मकवानपुरमा वैशाख २ गतेको थुनछेक बहसपछि अदालतले ज्वालालाई १८ हजार धरौटी माग गरेको थियो । तर, धरौटी रकम नतिरेपछि ज्वालालाई भीमफेदी कारागार चलान गरिएको थियो ।

सोमबार धरौटी बुझाए पनि उहाँ हिरासतमुक्त हुन सक्नुभएन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सागरविक्रम राणाले ज्वालाले तोकिएको धरौटी र जरिवाना तिरेकाले रिहा गरिए पनि पुनः अर्को मुद्धा भएकोले पक्राउ गरिएको दाबी गर्नुभयो ।