गर्मी बढेसँगै डढेलोको प्रकोप

0
Shares

नरेन्द्र केसी, घोराही, दाङ
गर्मी बढेसँगै ठाउँठाउँका डढेलाको प्रकोप बढेको छ । चुरे र महाभारत क्षेत्रमा यसको बढी जोखिम देखिएको छ । दाङका विभिन्न जंगल क्षेत्रमा डढेलाको प्रकोप बढेको छ । डिभिजन वन कार्यालयका अनुसार दाङका दर्जन बढी वनमा डढेलो शुरु भएको छ ।
डढेला बढ्न थालेपछि घोराही उपमहानगरपालिका ४ मा रहेको पालुथान सामुदायिक वन क्षेत्रमा लागेको आगो निभाउन स्थानीयहरु दिन राति खटिरहेका छन् । केही गलत व्यक्तिका कारण सिंगो गाउँलेले दुःख पाइरहेको स्थानीयको भनाइ छ ।

कसले र किन लागो लगाएको हो भन्ने केही नखुलेको र आगो बस्तीमा आइपुग्न थालेपछि आगो निभाउन गाउँले दिनराति खटिरहेको घोराही ४ तारकेनीका रविलाल घर्तीले बताउनुभयो । केही दिनको चर्को गर्मीसँगै आगो फैलिने क्रम तीब्र भएको उहाँले बताउनुभयो । ‘वन क्षेत्र त सखाप भएको छ अब गाउँ पनि जोखिममा पर्न थालेपछि तारकेनी गाउँका सबै आगो निभाउन लागेका छौं’– उहाँले भन्नुभयो । ‘

अहिले रामपुर क्षेत्रको सरयू सामुदायिक वन, पाण्डबेश्वर मन्दिरको धार्मीक वन, धर्नाको जनभावन सामुदायिक वन, गौरी सामुदायिक वन क्षेत्रमा आगो लागि भएको वन डिभिजन कार्यालय घोराहीका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । देउखुरीका केही वन क्षेत्रहरुमा पनि आगो लागेको सूचना आएको उहाँको भनाई छ । आगलागी हुदा बन्यजन्तु मर्ने र वन मासिदै आएको छ । आगो नियन्त्रणका लागि डिभिजनले सचेतनामूलक तालिम, होडिङबोर्ड राख्ने, पर्चाहरु बितरण गर्ने र उपभोक्ताहरुलाई सचेत गराउने काम गर्दै आए पनि प्रभावकारी नभएको उहाँले बताउनुभयो । डिभिजनले केही वन समुहलाई अग्नी रोधक औजारहरु समेत उपलब्ध गराएको छ ।

वन जंगल र जीवजन्तुको नाश सँगै गाउँहरु नै जोखिममा पार्ने आगो लगाउनेको पहिचान भने अहिले सम्म कसैले गर्न सकेका छैनन् । वन डिभिजन र सामुदायिक वन उपभोक्ता महासंघले पनि आगो लगाउनेलाई पक्राउ गर्न नसक्दा बर्षेनी आगलागिको जोखिम बढ्दै गएको छ । आगो लगाउनमा संलग्नको पहिचान भए वन ऐन २०४९ ले क्षतिको विगो भराउने, एक बर्ष कैद र १० हजार जरीवाना र दुबै हुन सक्ने व्यवस्था गरेको छ ।

आगलागिलाई वन अपराधका रुपमा कानुनमा उल्लेख भए पनि कानुनी दायरामा ल्याउन नसक्दा बर्षेनी भौतीक सँगै मानविय क्षति समेत हुदै आएको छ । राष्ट्रिय निकुन्जमा आगो लगाउनेलाई २ बर्ष कैद र १० हजार जरीवाना वा दुबै सजायको व्यवस्था रहेको सूचना अधिकृत केसीको भनाई छ । दाङमा ५ सय २४ सामुदायिक वन वन संरक्षणमा लागे पनि बर्षेनी डढेलोको जोखिम बढिरहेको छ ।