बम आक्रमणकारी नाइकेको होटल हमलामा मृत्यु ः राष्ट्रपति सिरिसेना


कोलम्बो, (एजेन्सी)
श्रीलंकामा इस्टर सन्डेको दिन २ सय ५३ जनाभन्दा बढी व्यक्तिको ज्यान जाने गरी चर्च र होटेलहरूमा लक्षित शृंखलाबद्ध बम आक्रमणमा संलग्न समूहका नाइकेको आत्मघाती आक्रमणकै दौरान नै मृत्यु भएको शुक्रबार श्रीलंकाली राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले पत्रकारहरूलाई जानकारी गराएका छन्।

सिरिसेनाले जाहरान हासिम नामक ती कट्टरपन्थी इस्लामिक धार्मिक नेताको राजधानी कोलोम्बोस्थित सात्ग्रिला होटेल आक्रमण दौरान ज्यान गएको पुष्टि गरेका छन्। उनले एल्हाम नामक अर्को आक्रमणकारीसंग मिलेर हासिमले सो होटेलमा आक्रमण गरेको पनि बताएका छन्।

ती आक्रमणको औपचारिक जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको थियो। सिरिसेनाका अनुसार श्रीलंकाली गुप्तचर सेवाले आईएससंग सम्बन्धित करिब १ सय ३० जना आशंकित व्यक्ति देशमा रहेको विश्वास गरेको छ भने प्रहरीले अझै फरार रहेका ७० जनाको व्यापक खोजी गरिरहेको छ।
तर राष्ट्रपतिले आइतबार भएका छ वटा आक्रमणमध्ये एक सात्ग्रिला बमकाण्डमा हासिमले कुन भूमिका निभाएको भन्ने स्पष्ट पारेको छैन।

श्रीलंकाली सरकारले भने यस आक्रमणमा स्थानीय इस्लामिक कट्टरपन्थी समूह नेसनल तहिद जमाथको हात रहेको जनाएको थियो। विगतमा त्यति चर्चामा नआएका हासिमले केही वर्षअघि बुद्ध मुर्तिहरूमा क्षति पुर्याएर कुख्याती कमाएका थिए। अनुसन्धानको क्रममा उनले यु ट्युवमा गैरमुश्लिम समुदायमाथि हिंसात्मक आक्रमण गर्न आ≈वान गरिएका भिडियोहरू अपलोड गरेको पाइएको थियो।

इस्टर सन्डे आक्रमण हुनु केही दिनअघि उनी एउटा भिडियोमा आईएसका नाइकेसंग बसिरहेको एउटा भिडियोमा देखिएका थिए। त्यसमा रहेका आठजनामध्ये हासिमको मात्र अनुहार प्रष्ट चिनिने अवस्थामा थियो। तर अझैसम्म हासिमको आईएससंग प्रत्यक्ष सम्बन्ध रहेको प्रमाणित हुनु बात्की नै रहेको छ। श्रीलंकाको तटीय शहर कात्तानकुदी निवासी हासिमका परिवारसमेत उनको आतंककारी गतिविधिबाट अनभिज्ञ रहेको बताइएको छ। राष्ट्रपति सिरिसेनाले यस बमकाण्डलाई लिएर नैतिकताको आधारमा श्रीलंकाको प्रहरी प्रमुख पुजिथ जयासुन्दराले राजीनामा दिएको बताएका छन्।

साथै रक्षा मन्त्रालयका वरिष्ठ अधिकारी हेमासिरी फर्नान्डोले पनि पदबाट राजीनामा दिएका छन्। बिहीबार यस घटनामा मारिनेको संख्या १ सयले घटेर २ सय ५३ मा सीमित रहन पुगेको हो। घटनास्थलबाट प्राप्त शवका भागहरूको आधारमा सो नयात् तथ्यांक सार्वजनिक भएको हो। तर अघिल्लो तथ्यांक कसरी गलत हुन पुग्यो भन्नेबारे प्रश्नहरू उब्जिरहेका छन्। यस आक्रमणलाई लिएर राष्ट्रको प्रहरी तथा गुप्तचर सेवाको क्षमतामाथि पनि औंला तेर्सिएका छन्।

श्रीलंकाका क्याथोलिक चर्चले चर्चको सम्पूर्ण सेवा रोकिएको जानकारी दिएको छ। सन् २००९ मा तत्कालिन राष्ट्रपति महिन्दा राजपाक्षेको नेतृत्व र निर्देशनमा सरकारी फौजले बल प्रयोग गरी पृथकतावादी तमिल आन्दोलन दबाएयताको श्रीलंकाको यो सबैभन्दा ठूलो र भयावह हिंसात्मक घटना हो।