छिमेकीसँग सहकार्य बढाउन चाहेका छौं ः राष्ट्रपति भण्डारी


नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल जस्तो भू–परिवेष्ठित राष्ट्रको सामाजिक, आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण रहेको बताउनुभएको छ। उहाँले बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने बताउनुभएको हो।

चीनको बेइजिङमा शुक्रबार आयोजित दोस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई) लाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल–चीन सीमानापार रेलवे वा बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासले नेपाल र चीनबीच मात्रै नभई यस क्षेत्रका अन्य देशसँग पनि कनेक्टिभिटीलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो।

नेपालीमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बेल्ट एन्ड रोड इनिसियटिभमार्फत मानव जातिको साझा भविष्य निर्माण गर्ने चिनियाँ राष्ट्रपति सी जिन पिङको दूरदृष्टिले विशाल सम्भावना बोकेको बताउनुभयो। ‘सहकार्य, सहयोग र सम्पन्नताको एक महत्वपूर्ण क्षण हो, विकासको फलबाट कुनै पनि मुलुक विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि बीआरआई एक माध्यम बन्न सक्दछ।’ –उहाँले भन्नुभयो।

लामो राजनीतिक संक्रमणपश्चात् नेपालले राजनीतिक स्थायित्व प्राप्त गरेको स्मरण गर्दै उहाँले अबको उद्देश्य जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु रहेको राष्ट्रपतिले भण्डारीले बताउनुभयो।

विकासका चुनौतीहरू सामना गर्न नेपालले छिमेकी र मित्रराष्ट्रसँग सहकार्य तथा सहयोग बढाउन चाहेको उहाँले बताउनुभयो। राष्ट्रपति भण्डारीले दिगो विश्व शान्ति र समृद्धि हासिल गर्न, न्यायपूर्ण, निष्पक्ष, समतामूलक, समावेशी नियममा आधारित विश्व व्यवस्था निर्माण गर्न र बेल्ट एन्ड रोड फोरम सक्षम हुने विश्वाससमेत व्यक्त गर्नुभयो।

राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताउँदै उहाँले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढताका साथ अगाडि बढेको बताउनुभयो।

सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले भन्नुभयो– ‘मैले यहाँहरू सबैका लागि बुद्धको भूमि तथा सर्वोच्च शिखर सगरमाथाको देश नेपालको सरकार तथा जनताका तर्फबाट न्यानो अभिवादन तथा शुभेच्छा ल्याएको छु। विश्व आज गम्भीर परिवर्तनको मोडमा छ। संसारका धेरैजसो भागमा गरिबी घटेको छ, स्वास्थ्य तथा शिक्षामा पहुँच सहज बनेको छ र धेरै अर्थतन्त्र समृद्ध बन्दै गइरहेका छन्।

अभूतपूर्वस्तरको प्राविधिक क्रान्तिले सम्भावनाको ढोका खोलिदिएको छ।’ –उहाँले भन्नुभयो।
यसका बाबजुद नयाँ तथा पुराना चुनौती स्पष्टरूपमा देखापरेका छन्। सम्पत्तिको असमान वितरण व्याप्त छ। धेरैका लागि विकासका प्रतिबद्धता पूरा भएका छैनन्। करोडौं मानिस गरिबीको अमानवीय चक्रमा बाँधिएको उल्लेख गर्दै सम्बोधनमा उहाँले विश्वमा कुनै एक कुनामा व्याप्त गरिबी पूरै विश्वका लागि खतरा बन्न सक्छ भन्ने कुरा हामीले स्वीकार गर्नुपर्ने बताउनुभयो।

एसिया विश्व अर्थतन्त्रको एक प्रमुख शक्ति हो। समृद्ध विश्वको भविष्यका लागि यो क्षेत्र महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अवस्थामा छ। धेरै समृद्ध सभ्यता भएकाले एसियाको भविष्य समावेशिता र सहकार्यमा आधारित हुनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिनुभयो।

नेपाल चीन सीमापार रेलवेलगायत हिमालय वारपार बहुआयामिक कनेक्टिभिटीको विकासले नेपाल र चीनबीच मात्र नभई यस क्षेत्रका अन्य देशहरूसँग समेत सम्पर्क सञ्जाललाई प्रवद्र्धन गर्नेमा उहाँले जोड दिनुभयो।

‘हाम्रो राष्ट्रिय चाहना ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यद्वारा निर्देशित छ। अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुनु हाम्रो तत्कालको उद्देश्य हो। सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न चाहन्छौं।’ –राष्ट्रपतिले भन्नुभयो।

चीनमा राष्ट्रपति भण्डारीद्वारा नेपालीलाई सम्बोधन