राजपाको महाधिवेशन कात्तिक २८ गतेदेखि


गंगा बराल, काठमाडौं
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आगामी कात्तिक २८ देखि ३० गतेसम्म एकताको महाधिवेशन गर्ने निर्णय गरेको छ। ५ दिनसम्म लगातार बसेको पदाधिकारी समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको पार्टी महासचिव केशव झाले बताउनुभयो।

झाका अनुसार नेता महन्थ ठाकुरको संयोजकत्वमा सबै पदाधिकारी रहने गरी महाधिवेशन तयारी समिति र सबै केन्द्रीय सदस्य रहेको महाधिवेशन मूल आयोजक समिति गठन गर्ने निर्णय पनि गरेको छ।

राजपाले नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ। बैठकमा पदाधिकारीहरूले तत्काल महाधिवेशनको मिति तोक्न नेतृत्वलाई दबाब दिँदै आएका थिए। ‘अहिलेसम्म देखिएका विवाद सबै मिसिकेका छन्, अब महाधिवेशन हुँदैन कि भन्ने ठाउँ छैन’, महासचिव झाले भन्नुभयो– ‘बीचमा कुनै समस्या नआओस् भनेर नै अहिलेसम्म गम्भीररूपले छलफल गरेका हौं।’

राजपा अध्यक्ष मण्डलका संयोजक शरद्सिंह भण्डारीको अध्यक्षतामा बसेको शुक्रबारसम्मको बैठकले संविधान संशोधनको माग कायम राख्ने, प्रदेश र स्थानीय तहलाई बलियो बनाउन अधिकार दिनुपर्ने, कैलाली–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रेशमलाल चौधरीलगायतलाई रिहा गर्नुपर्ने, आफ्ना कार्यकर्तामाथि लगाइएका झुटा मुद्दा फिर्ता लिनुपर्ने माग पनि सरकारसँग राखेको छ।

राजपाले बलात्कारीलाई कारबाही गर्र्न, महँगी नियन्त्रण गर्न पनि सरकारसँग माग गरेको छ।

उसले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने जनाएको छ। प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदले पटक–पटक संसद् अवरोध गर्दै आएका थिए। राजपाले भ्रष्टाचार र कालोबजारीविरुद्ध सडकदेखि सदनसम्म आन्दोलन चर्काउने निर्णय पनि गरेको छ। २०७४ साल वैशाख ७ गते ६ वटा राजनीतिक पार्टी मिलेर राजपा बनेको थियो।

पार्टीले समान विचार मिल्ने संघीयता र पहिचान पक्षधर पार्टी र समूहसँग एकता गर्नेसमेत निर्णय गरेको छ। राजपा र उपेन्द्र यादव नेतृत्व रहेको संघीय समाजवादी फोरम नेपालले गत साल सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रिय सभाको निर्वाचनमा चुनावी तालमेल गरेका थिए। २ नम्बर प्रदेशमा फोरमले सरकारको नेतृत्व गरेको छ भने राजपाले सभामुख पाएको छ।

राजपाले गत वैशाख ७ गते नै महाधिवेशन गर्ने भने पनि आन्तरिक विवादका कारण महाधिवेशन हुन सकेन। राजपाले केन्द्रदेखि तल्लो तहसम्मै चक्रीय प्रणालीमा अध्यक्ष मण्डलको संयोजक र सदस्य रहने व्यवस्था गरेको छ। यो व्यवस्थाप्रति पार्टीभित्र चर्को आलोचनासँगै असन्तुष्टि पनि बढ्दै गएको छ।

चक्रीय प्रणालीअन्तर्गत केन्द्रमा अनिलकुमार झा र राजकिशोर यादव संयोजक बन्न बाँकी नै छ।
पार्टी नेता महन्थ ठाकुरले १९ महिनासम्म संयोजक नछोडेपछि पार्टी एकताको २ वर्ष पुग्दा पनि झा र यादवको संयोजक बन्ने पालो नआएको हो।

पार्टी एकता हुँदा २÷२ महिनामा संयोजक परिवर्तन हुने सहमति भएको थियो। यसअघि राजेन्द्र महतो र महेन्द्र राय यादव संयोजक भइसकेका छन्। ठाकुरबाहेकका संयोजकले भने नियमअनुसार नै २ महिनामै नेतृत्व हस्तान्तरण गरे।