भुकम्पको ४ वर्षमा रेडक्रसको पुनर्लाभ गतिविधिको प्रगति उत्साहजनक


नेपाल समाचारपत्र, काठमाडौं ।
२०७२ को भूकम्पको ४ वर्षको सम्झनामा नेपाल रेडक्रस सोसाइटीले एक कार्यक्रम गर्दै भुकम्प प्रतिकार्यको प्रगति विवरण सार्वजनिक गरेको छ । रेडक्रसले भविश्यको लागि अझ राम्रो गर्न पूर्वतयारीको लागि सवैमा अनुरोध समेत गरेको छ ।

नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले रेडक्रसको सहयोगमा प्रभावित क्षेत्रका ६ हजार १ सय ५३ जनाको निजी घर निर्माण सम्पन्न भएको, ७८ हजार ७ सय मानिसहरुलाई खानेपानी सहयोग गरिएको, एउटा अस्पताल र ३७ स्वास्थ्य चौकीको निर्माण वा मर्मतकार्य सम्पन्न गरिएको लगायतको विवरण प्रस्तुती गर्नुभयो ।

रेडक्रसको केन्द्रीय कार्यालयमा आयोजित भुकम्पको सम्झना कार्यक्रममा फोटो एल्बम सार्वजनिक गर्दै नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले भन्नुभयो :” “२०७२ को भुकम्पपछि नेपालले व्यहोरेको ठूलो क्षति पश्चात राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय जगतबाट नेरेसोले गरेकोे भूकम्प प्रतिकार्यको ज्यादै सह्राना भएको छ । समुदायले पनि उत्तिकै अपनत्व लिएका छन् । हाम्रो काम राष्ट्रिय अन्तर्रा्ष्ट्रिय स्तरमा उदारहण नै बनेको छ ।”

सो अवसरमा पुननिर्माणलाई आधार बनाई विभिन्न प्रतिभाहरु प्रस्तुत पनि गरिएको सोसाइटीका सञ्चार निर्देशक दिव्य राज पौडेलले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटीले भुकम्प प्रभावितको सहयोगको लागि गरेको काम र यसका भुकम्प प्रतिकार्य गतिविधिमा सहयोग गर्ने सवैपक्षलाई नेरेसोका महामन्त्री देवरत्न धाख्वा र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख जुजा किमले धन्यवाद दिनुभयो । रेडक्रसको अन्तर्राष्ट्रिय समितिका नेपाल प्रमुख आन्द्रे पाके, साझेदार सोसाइटीहरुको तर्फबाट क्यानडियन रेडक्रसका रिचार्ड म्याकवेले रेडक्रसका स्वयंसेवक र कर्मचारीको अथक मेहनतले प्रतिकार्य कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रगति उत्साहजनक:

ठूला विपद्हरु पश्चात विश्वका विभिन्न स्थानमा भएका प्रतिकार्यका कामहरु हुदैआएको सन्दर्भमा नेपालमा प्राप्त उपलव्धि उत्साहजनक भएको तथ्याँकहरुले प्रमाणित गरेको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो ।
प्रभावित क्षेत्रका ५ हजार ७ सय ३८ जनाको निजी घर निर्माण सम्पन्न भएको छ । यो रेडक्रसले जिम्मा लिएको लक्ष्यको तुलनामा ८५ प्रतिशत प्रगति हो । ७ हजार ३ सय परिवारलाई घर बनाउन सहयोगार्थ दुई अर्व ३ करोड नगद सहयोग नै लाभग्राहीलाई प्रत्यक्ष उपलव्ध गरिएको छ । यस अघि आपत्कालीन आवास र मौसमी सहयोग स्वरुप पनि रकम लाभान्वितलाई नगदै वितरण गरिएको थियो ।

७८ हजार ७ सय २६ जना लाभान्वित हुने गरी २ सय ८० खानेपानी आयोजना सम्पन्न भएका छन् र २ हजार १५ वटा खानेपानीका धारा निर्माण भएका छन् । ९ हजार ८२ घरमा शौचालय निर्माण भई ९५ प्रतिशत प्रगति भएको छ । स्वास्थ्य तर्फ एक जिल्ला अस्पताल, २५ स्वास्थ्य चौकी निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । १२ वटा स्वास्थ्य चौकी मर्मत गरिएको छ । सफ्टवेयर तर्फ सवैकामहरु सम्पन्न भएका छन् ।

३३ हजार ३ सय ६० परिवारलाई जीविकोपार्जनको लागि जम्मा ६१ करोड रुपैँया नगदै सहयोग गरिएको छ । यसैगरी १२ लक्ष्य मध्ये ११ वटा विद्यालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको, २३ हजार ८ सय ६० परिवारले जीविकोपार्जन सीप हासिल गरेका छन् र ती मध्ये ४ हजार २ सय २२ परिवारलाई पशु गोठ निर्माणमा सहयोग गरीएको छ । १८ हजार ८ सय ९६ पशुहरुको वीमा सहयोग र ८५ वटा साना सिँचाई कुलोहरु निर्माण गरिएको छ ।

समावेशिकरणको नमुना र भविश्यको लागि तयारी:

जुनसुकै समयमा विपद आउन सक्ने भएकाले संस्थागत क्षमता र चेतनाको लागि रेडक्रसले काम गरिरहेको छ । यसै अन्तरगत भुकम्पले विगारेका संरचना, रेडक्रसका भवनहरु, गोदाम घरहरु निर्माण गरिएका छन् । समुदायमा १ हजार ३ सय ९६ जनालाई समुदायमा आधारित विपद् व्यवस्थापन विषयमा उच्च स्तरीय प्रशिक्षण दिइएको छ । निशुल्क हटलाइन, रेडियो सन्देश लगायतका गतिविधिहरु पनि निरन्तरता दिइएको छ ।

निर्देशक पौडेलले भन्नुभयो, “अहिले बनेका अधिकांश संरचना र गतिविधिहरु बालबालिका, महिला तथा अपाङ्गता मैत्री छन् र उनीहरुको हित तथा विकासमा कसरी काम गर्दा प्रभावकारी हुन्छ भनेर सिकाइ भएको छ । हामीले विद्यालयहरुमा ३१ वटा शौचालय निर्माण गर्दा अपांगमैत्री बनाएका छौँ । एउटा त अपांगता भएका विद्यार्थीहरुको लागि होस्टल नै निर्माण गरिएको छ ।”

यी कामहरुको लागि भूकम्प पश्चात विभिन्न क्षेत्रबाट प्राप्त ७ अर्व ३९ करोड रकम मध्ये करिव ७ अर्व १६ करोड खर्च भएको छ त्यसको ठूलो हिस्सा लाभान्वितलाई नगदै वितरण र पूर्वाधार निर्माणमा गएको छ । (मूल प्रगतिहरुकोे विस्तृत विवरण इन्फोग्राफिक्समा हेर्नुहोस् )।

उदयपुरमा उप¬क्षेत्रीय गोदाम निर्माण:

भूकम्प वा अन्य विपद्को प्रतिकार्यको सिकाईकै आधारमा उदयपुरको कटारीमा उप क्षेत्रीय गोदाम निर्माण गरी सञ्चालनमा ल्याइएको छ । १ करोड ८६ लाखको लागतमा बनेको सो भवनको मंगलबार एक कार्यक्रमका वीच नेरेसोका अध्यक्ष सञ्जीव थापाले उद्घाटन गर्नुभएको हो । उदयपुर रेडक्रसका सभापति विनोद वस्नेतले विराटनगर र वीरगंजमा क्षेत्रीय गोदाम रहेको र ती गोदाममा सामान लान लैजान मात्रै होइन, फास्ट ट्«याकबाट जाँदा काठमाडौँबाट ४ घण्टा भित्रै पुगिने भएकोले रणनैतिक स्थानको रुपमा कटारीको गोदामघर रहेको बताउनुभयो ।

यो गोदामघरले सप्तरी देखि बारासम्मका समथर इलाका मात्र होइन, ओखलढुँगा, सोलुखुम्बु, खोटाङ, सिन्धुली लगायतका पहाडी जिल्लाहरुमा समेत सेवा दिन सक्छ । ४ तलाको सो गोदाममा अहिले ९ सय परिवारको लागि पूर्णसेट सामान भण्डारन रहेको छ । तालिम कक्ष तथा सिमित व्यक्तिहरुको आवासको लागि पनि भवनमा व्यवस्था हुने गोदाम इन्चार्ज प्रकाश खड्काले जानकारी दिनुभयो ।

जिल्लाहरुमा दीगोपनाका उपाय गरिँदै :

रेडक्रसको अन्तर्राष्ट्रिय समितिको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको भूकम्प प्रतिकार्य कार्यक्रम सम्पन्न गरी सोको विवरण छुट्छुट्टै समारोहका विच ओखलढुङ्गा, सिन्धुली र रामेछाप जिल्लाका स्थानीय निकायलाई हस्तान्तर गरिएको छ ।

गत सोमबार ओखलढुङ्गामा, मंगलबार सिन्धुली र रामेछापमा बुधबार सम्पन्नता तथा विवरण हस्तान्तरण गरिएको हो ।
ओखलढुङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संघीय प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारले भूकम्प प्रतिकार्य कार्यक्रम सकिएपनि मानवीय पिडा कम गराउने खालका कार्यक्रम जिल्ला सञ्चालनका लागि आग्रह गर्दै रेडक्रसलाई आफ्नो सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्तगर्नुभयो ।

सो अवसरमा बोल्दै सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले रेडक्रसबाट हस्तान्तरीत कार्यक्रमलाई रेडक्रससँगको समन्वयमा आगामी दिनमा निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा उपमेयर इच्छा कुमारी गुरुङ, ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा, रेडक्रसको अन्तराष्ट्रिय महासंघका नेपाल प्रमुख जुजा किम, रेडक्रसका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल, जिल्ला सभापति सुमनराज भण्डारी, कार्यक्रम सञ्चालित वडाका वडाअध्यक्षहरु लगाएतको उपस्थिती रहेको थियो ।

यस्तै सिन्धुलीमा र रामेछाप जिल्लामा आयोजित कार्यक्रमहरुमा पनि रेडक्रसको सहयोगमा पुनर्निर्माण सकाएका लाभग्राहीहरुलाई दिईने निर्माण सम्पन्नताको प्रमाण पत्र पनि हस्तान्तरण गरिएको छ ।

त्यस्तै कार्यक्रम सञ्चालित क्षेत्रमा निर्माण गरिएका खानेपानी आयोजना, स्वास्थ्य संस्था तथा उपकरण, विद्यालय लगाएतका पूर्वाधार र विवरणहरुको जिम्मेवारी पनि सम्बन्धित स्थानीय तहहरुलाई हस्तान्तरण गरिएको छ ।