आयोगद्धारा पाँच विरुद्ध मुद्दा दायर, एक जना पक्राउ


काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव डिभिजन वन कार्यालय, लाटीझोडा, मोरङका सहायक वन अधिकृत सल्लाहुदिन अन्सारीविरुद्द मुद्दा दर्ता गरेको छ । आयोगको इटहरीबाट खटिएको टोलीले अन्सारीलाई सेवाग्राहीसंग पैंतिस हजार घूस लिईसकेको अवस्था पक्राउ गरेको थियो ।
अन्सारीले डिभिजन वन कार्यालय, मोरङमा पुनरउत्पादन कटान सहमतिको सिफारिस गरिदिन भन्दै सेवाग्राहीसंग घूस लिएको अनुसन्धानमा खुल्न आएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताउनुभयो । उहाँका अनुसार अन्सारीलाई पैंतिस हजार जरिवानासहित थप कारवाहीको माग गर्दै बिहीवार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, राजविराज, सप्तरीमा कार्यरत नायब सुब्बा बासुदेव मण्डलविरुद्ध पनि मुद्दा दायर गरेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार मण्डललाई मोही जग्गाको बाँडफाँड गरी लागत कट्टा गरिदिने भन्दै सेवाग्राहीसंग चालीस हजार घूस रकम लिईसकेको अवस्थामा पक्राउ गरिएको हो । उनलाई चालीस हजार जरिवाना सहित कारबाहीको माग गरिएको छ ।

यस्तै आयोगले यातायात व्यवस्था कार्यालय, कन्चनपुरका तत्कालीन निमित्त कार्यालय प्रमुख एवं परीक्षा समितिका अध्यक्ष सिताराम खनाल, मेकानिकल इन्जिनियर एवं परीक्षा समितिका सदस्य योगेन्द्रप्रसाद गुप्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक एवं परीक्षा समितिका सदस्य बाबुकाजी गिरीविरुद्द समेत मुद्दा दायर गरेको छ ।

यातायात कार्यालयले गत २०७२ साल असार १६ गते देखि २६ गते सम्म लिएको मोटरसाइकल र स्कुटरको सवारीचालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षामा असफल भएका परीक्षार्थीहरूबाट ५ देखि १५ हजार सम्म रकम असूली गरेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार लिखित परीक्षामा तीन हजार दुई सय एघार जना र प्रयोगात्मक परीक्षामा तीन हजार दुई सय ६५ जना सहभागी भएका थिए ।

उनीहरुले प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण र अनुपस्थित भएका आठ जना परीक्षार्थीहरूलाई पास गराई सवारी चालक अनुमतिपत्र दिएका थिए । उनीहरु सबैलाई कानून बमोजिमको सजाय हुन माग गर्दै अदालतमा मुद्दा दायर गएिको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

यसैगरी आयोगले मालपोत कार्यालय रूपन्देही, भैरहवाका तामेली शाखामा कार्यरत कार्यालय सहयोगी जोगेन्द्र प्रसाद चौधरीलाई बीस हजार घूससहित आयोगको बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको छ । आयोगका प्रवक्ता कोइरालाका अनुसार चौधरीले सेवाग्राहीसंग सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि उपलब्ध गराईदिने भन्दै घूस रकम माग गरेका थिए ।
यसबारे थप अनुसन्धान भईरहेको छ ।