जलाईयो ६ सय ७८ केजी गाँजा


हेटौंडा ।
मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट विभिन्न मितिमा बरामद गरेको लागुऔषध गाँजा नष्ट गरेको छ ।
मकवानपुर र धादिङलगायत जिल्लाबाट भारत निकासी गर्न लागिएको गाँजा नियन्त्रमा लिएको प्रहरीले बिहीबार जलाएर नष्ट गरेको हो । लागुऔषध भीमफेदी गाउँपालिका–१ स्थित केशरी खोला किनारमा नष्ट गरिएको छ । करिब ६ महिनापछि लागुऔषध नष्ट गरिएको हो ।

गाँजा नष्ट गर्दा वरिपरि दुर्गन्ध फैलिएको थियो । प्रहरीले विभिन्न समयमा बरामद गरेको गाँजा ६ सय ७८ केजी, चरेश २ सय ७३ केजी, अफिम ७ सय ग्राम, फेनारगन २९ एम्पुल, ब्युप्रोनोर्फिन २९ एम्पुल, डाइजेपाम २९ एम्पुल, नाइट्रोभेट ५ सय ४७ ट्याब्लेट नष्ट गरेको मकवानपुर प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

प्रहरीले लागुऔषध अनुसन्धान तथा कारबाहीको फैसलापछि अदालतको अनुमतिमा उक्त परिमाणमा लागुऔषध नष्ट गरेको हो । यद्यपि, ४ सय ४० किलो ८ सय ग्राम लागुऔषध भने अनसन्धानमा रहेकोले नष्ट गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

२०७५ फागुन ८ गतेदेखि वैशाख १ गतेसम्म अवधिमा नियन्त्रणमा लिइएको लागुऔषध नष्ट गरिएको सिंहले जानकारी दिनुभयो । भीमफेदी गाउँपालिका–१ अध्यक्ष, स्थानीय र पत्रकारलगायतको उपस्थितिमा लागुऔषध जलाएर नष्ट गरिएको हो ।