अख्तियारले मार्याे अस्पतालमा छापा


कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्जको नारायणी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
उक्त अस्पतालमा भएको भ्रष्टाचारबारे एक सातादेखि बिभिन्न सञ्चारमाध्यममा समाचार आएपछि अख्तियारको टोलीले छापा मारेको हो।आयोगको हेटौँडास्थित क्षेत्रीय कार्यालयबाट सूचना अधिकारी देवकुमार राईको नेतृत्वमाकेही कागजात नियन्त्रणमा लिँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकसँग सोधपुछ गरेको अख्तियारको हेटौंडा क्षेत्रीय कार्यालयकी प्रमुख हुमकाला पाँण्डेले जानकारी दिनुभयो । सोधपुछका क्रममा मेसु हकले अस्पतालको औषधि खरिद प्रकृयामा कागज नै हेरफेर भएको स्वीकार्य गरेको उहाँले बताउनुभयो ।

अख्तियारको टोलीले मेसुसहित अस्पतालका स्टोर प्रमुख दामोदर अधिकारी, ल्याब इन्चार्ज हिराबाबु पाण्डे, सचिन्द्र यादव र फार्मेसी ईन्चार्ज विजय यादवसँग पनि लामो समय सोधपुछ गरेको छ। सोधपुछका क्रममा औषधि खरिद प्रकृयामा भएको अनियमितताबारे फार्मेसी इन्चार्ज यादवले अख्तियारको टोलीसामु मेसुको सबै पोल खोलिदिएको श्रोतको भनाइ छ ।

बयान दिएर निस्केका यादवले संचारकर्मीसँग कुराकानीका क्रममा विगतमा भएका औषधि खरिद, केमिकल, मेसिन खरिदमा र कर्मचारी भर्नामा मेसु हकले व्यापक आर्थिक चलखेल गरेको जानकारी दिनुभयो । मेसु हकले करार कर्मचारीको म्याद थपे पनि आफ्नो म्याद नथपी अस्पतालबाट निस्कासन गरेपछि आफूले अनियमितताबारे अख्तियार सामु लिखित बयान दिएको यादवले बताउनुभयो ।

अनुगमन पश्चात मेसु लगायत अन्य शाखा इन्चार्जसँग लिखित रुपमै बयान लिई मुचुल्का समेत अख्तियारले उठाएको छ। अख्तियारको टोलीले अस्पतालमा रहेको ल्याब, लेखाशाखा, फार्मेसीलगायतको शाखामा पुगेर स्थलगत अनुगमन गर्नुका साथै त्यहाँको बस्तुस्थिती पनि निहालेका थिए। टोलीले अस्पतालको कागजपत्र पनि नियन्त्रणमा लिएको छ ।