आधुनिक कृषि बजार सञ्चालन सम्झौता, कृषिलाई विशिष्टीकरण गर्ने लक्ष्य

0
Shares

हेटौंडा,(नेस) । आधुनिक कृषि बजार परियोजना सञ्चालनका लागि प्रदेश–३ सरकार र गैरआवासीय नेपाली संघबीच हेटौंडामा सम्झौता भएको छ ।
प्रशोधन सुविधासहितको (मुना) आधुनिक कृषि परियोजना सञ्चालनका लागि सम्झौता गरिएको हो । दुवै पक्षबीच आवश्यक सहकार्य र कार्यान्वयन गर्न÷गराउन प्रदेश सरकार, भूमि, कृषि तथा सहकारी मन्त्रालय र गैरआवासीय नेपाली संघबीच बुधबार सम्झौता भएको छ ।

प्रदेशको निर्वाहमुखी कृषिलाई विशिष्टीकृत गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कृषि उत्पादन बृद्धि, प्रशोधन, र बजारीकरणमार्फत् समग्र कृषि क्षेत्रको प्रवद्र्धनका लागि गैरआवासीय नेपाली संघले आह्वान गरेको हो ।
हेटौंडासहित प्रदेशका विभिन्न शहरमा आधुनिक कृषि बजार निर्माण गरिने सम्झौतामा उल्लेख छ । पूर्ण सामाजिक उत्तरदायित्वसहित नाफामूलक व्यबसाय सञ्चालन गर्ने उद्धेश्य राखिएको छ ।

परियोजनाबाट पुँजीलाई सामूहिकरुपमा लगानी गर्ने, सिप, दक्षता र अनुभव उपयोग गर्दै आधुनिक कृषि प्रविधि र अन्तर्राष्ट्रियजगत्मा सफल कृषि अभ्यास मुलुकमा भित्र्याउनेलगायत लक्ष्य छ ।

सम्झौतापत्रमा भूमि, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्की र गैरआवासीय नेपाली संघका कृषि समिति युवराज गुरुङले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्री दावा दार्जेलामाले नेपालको कृषिलाई आधुनिकीकरण गर्ने अभियानमा लागिएको बताउनुभयो ।

अब व्याबसायिक कृषिलाई अगाडि बढाउन लागिएको भन्दै उहाँले काम छिटो गर्न आग्रह गर्नुभयो । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जेएन थपलियालगायतको उपस्थिति थियो ।