लुम्बिनी भ्रमण वर्ष जेठ ४ देखि

0
Shares

नेपाल समाचारपत्र
रुपन्देही
‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ नारासहित प्रदेश ५ ले सरकारले मनाउने घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष जेठ ४ गते शुरु हुने भएको छ ।

बुद्धपूर्णिमा (जेठ ४ गते) का दिन उद्घाटन गरी अर्को वर्षको चैत्र शुक्ल पूर्णिमासम्म एक वर्षभरी विभिन्न कार्यक्रम गरी भ्रमण वर्ष मनाइने बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले नेपाल सरकारले सन् २०२० मा मनाउन लागेको भिजिट नेपाललाई सफल बनाउन आधार प्रशस्त गर्ने र लुम्बिनीको पर्यटन प्रवद्र्धनका माध्यमबाट प्रदेशको समृद्धि हासिल गर्न टेवा पु¥याउने उद्देश्य रहेको बताउनुभयो ।

भ्रमण वर्षमा २० लाख पर्यटकलाई लुम्बिनी र लुम्बिनीसंग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राम लगायतका स्थानमा भित्राउने लक्ष्य रहेको मन्त्री गिरीले जानकारी दिनुभयो ।भ्रमण वर्ष अन्तर्गत मायादेबी प्रसुति उत्सव, लुम्बिनी फुड फेस्टिबल, सुजाता खिर उत्सव, सडक प्रदर्शनी, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूल मून डे ‘पूर्णिमा’ उत्सव, धार्मिक यात्रा र त्रिपिटिक वाचन, योग तथा ध्यान शिविरहरू, स्थानीय उत्पादनहरूको बिक्रीकक्ष ‘कोसेली घर’को व्यवस्था गरिने पर्यटन मन्त्रालयले जनाएको छ ।
भ्रमण वर्षले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा लुम्बिनी क्षेत्रको प्रचार भई लुम्बिनी क्षेत्रमा आउने पर्यटकको संख्या र उनीहरूकोे बसाई लम्बिने, स्थानीय उत्पादनको व्यवसाय बढ्ने, रोजगारी सिर्जना हुने र पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

भ्रमण वर्ष सम्पन्न गर्न ४ करोड १९ लाख ६० हजार रुपैयां वजेट खर्च गरिंदैछ । कूल वजेट मध्ये चालु आर्थिक वर्षमा २ करोड २७ लाख ९० हजार र अर्को वर्ष १ करोड ९१ लाख ७० हजार खर्च गरिने छ ।

भ्रमण वर्ष कार्यक्रम उद्घाटनमा ७० लाख रुपैयाँ खर्च हुने छ । हाल १२ लाख ५० हजार स्वदेशी, १ लाख ६१ हजार भारतीय र १ लाख ५१ हजार जना पर्यटक तेस्रो मुलुकका ८७ वटा देशबाट गरी कूल १५ लाख ६२ हजार पर्यटक अघिल्लो वर्ष लुम्बिनी भ्रमणमा आएका थिए ।