२०७२ सालको भूकम्पको सम्झना: सबै सम्पदा पुनर्निर्माण गर्न १२ अर्ब लाग्ने

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
भूकम्पले ध्वस्त देशभरका अधिकांश सम्पदाको पुनर्निर्माण कार्य भइरहेको छ । भूकम्पले क्षति बनाएका विश्वसम्पदा सूचीमा रहेका उपत्यकाका ७ क्षेत्रका १ सय ७३ मध्ये ८७ सम्पदा पुनर्निर्माण भइसकेका छन् । विश्वको ध्यान खिच्न सफल रानीपोखरी पुनर्निर्माणको क्रममा रहेको छ । हनुमानढोका दरबार क्षेत्रको काष्ठमण्डप र धरहरा पुनर्निर्माणको क्रममा रहेका छन् ।

चीन सरकारको सहयोगमा वसन्तपुरस्थित नौतले दरबार यो वर्षको अन्त्यसम्ममा र दरबार हाइस्कुल आगामी वर्ष सम्पन्न हुने गरी पुनर्निर्माण भइरहेका छन् । अमेरिकी सरकारको सहयोगमा गद्दी बैठक निर्माण सम्पन्न भइसकेको छ । भक्तपुर र पाटन दरबार क्षेत्रका अधिकांश सम्पदा पुनर्निर्माण भइरहेका छन् । विभागको तथ्यांकअनुसार पाटनको भीमसेन मन्दिरअगाडिको सिंहको मूर्ति, योगनरेन्द्र मल्लको सालिक, सुन्दरीचोकको पूर्वी लङ, तलेजु र मूलचोकको छाना, मणिमण्डप, सोह्रखुट्टे पाटी निर्माण सम्पन्न भइकेका छन् । भक्तपु्र दरबार क्षेत्रका अधिकांश सम्पदाहरु पुनर्निर्माण भइसकेका छन् ।

हनुमानढोकाको लक्ष्मीनारायण, महादेव, सरस्वती, नगरा, सिंहसत्तल, मोहनकाली चोकको माथिल्लो मोहडा, पञ्चमुखी हनुमान, श्वेतभैरव, मसानचोकको नृत्येश्वर मन्दिर, प्रतापमल्लको सालिक, देगु तलेजु, नौतले र गद्दी बैठकबीचको राणाकालीन भवन पुनर्निर्माण भइसकेका छन् । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूका एक दर्जन सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । स्वयम्भूको टासी गोर्माग चैत्य, अनन्तपुर, प्रतापपुर, शान्तिपुरको पाटी, मञ्जुश्री सत्तल पु्नर्निर्माण भइसकेका छन् ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार हनुमानढोका दरबार क्षेत्रमा क्षतिग्रस्त भएका २९ मध्ये १६, स्वयम्भूमा १८ मध्ये १५, पशुपतिमा ६६ मध्ये १६, बौद्धनाथ र पाटन दरबार क्षेत्रमा ३० मध्ये १२ र चाँगुनारायणमा ६ मध्ये ५ वटा सम्पदा पुनर्निर्माण भइसकेका छन् । तथ्यांकअनुसार बहुवर्षीय योजनामा आधारित सम्पदामध्ये हालसम्म ५० वटा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । बहुवर्षीयसहित हालसम्म २ सय २४ सम्पदा पुनर्निर्माण भइसकेको प्रवक्ता कुँवरको भनाइ छ । उहाँका अनुसार अबको दुई वर्षभित्र भूकम्पले क्षतिग्रस्त सम्पदाहरु पुनर्निर्माण भइसक्ने छ ।

विभागले देशैभरका ८ सय ९५ सानाठूला सम्पदा पुनर्निर्माणका लागि १२ अर्ब ६६ करोड रुपियाँ लाग्ने अनुमान गर्दै अर्थ मन्त्रालयमा बजेट माग गरेको छ । विभागमार्फत हालसम्म १ अर्ब ८५ करोड रुपियाँ बराबरको सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेको छ । विभागको योजनाअनुसार विसं २०७८ सम्ममा भूकम्प प्रभावित ३१ जिल्लाका सम्पूर्ण सम्पदा पुनर्निर्माण भइसक्नेछन् । विभागका प्रवक्ता कुँवरका अनुसार भूकम्पले १४ जिल्लाका ७ सय ५३ सम्पदामा क्षतिपुगेको छ । अन्य जिल्लामा गुम्बाबाहेक करिब ९ सय सम्पदामा क्षति पुगेको थियो । भूकम्पपछि विभागबाट १ सय ६४, अन्य संघसंस्थाले ४२ र पशुपति विकास कोषले १८ सम्पदा पुनर्निर्माण सम्पन्न गरिसकेको जनाएको छ ।

-काष्ठमण्डप, धरहरा, रानीपोखरीको पुनर्निर्माण तीव्र
-विश्वसम्पदा क्षेत्रका १ सय ७३ मध्ये ८७ पुनर्निर्माण सम्पन्न
-दुई वर्षमा सबै सम्पदा पुनर्निर्माण सकिने

प्रवक्ता कुँवरका अनुसार ०७५÷०७६ मा ५० प्रतिशत, ०७६÷०७७ मा ७५ प्रतिशत र ०७८ सम्ममा शतप्रतिशत निर्माण सम्पन्न गर्नुपर्ने योजना रहेको छ । विभागले हाल ०७८ सम्मको पुनर्निर्माण योजना निर्माण गरिरहेको छ । उता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकाभित्र र बाहिरका ५२ वटा परम्परागत सम्पदा बस्तीहरूको विस्तृत गुरुयोजना तयार गरी सोहीअनुसार पुनर्निर्माण गर्ने जनाएको छ । उपत्यकाभित्रका बुङमती, खोकना र साँखु एवं उपत्यकाबाहिरका नुवाकोट दरबार क्षेत्र, गोरखा दरबार क्षेत्र र दोलखा भीमेश्वर मन्दिर क्षेत्रलाई परम्परागत सम्पदा बस्तीका रूपमा सूचीकृत गरी पुनर्निर्माण कार्य अघि बढाइएको प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो । पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माणमा भूकम्प अति प्रभावित जिल्लामा ५९ प्रतिशत उपलब्धि हासिल गरेको प्राधिकरणको दाबी छ ।

२०७२ वैशाख १२ गते भूकम्प गएको आज ४ वर्ष पूरा भएको छ । ४ वर्षको अवधिमा सम्पदा पुनर्निर्माण तीव्र गतिमा भइरहेको विभागको भनाइ छ । ‘२०७३ सालदेखि बल्ल पुनर्निर्माण शुरु गरेका थियौं, अहिले स्थानीय तहको सहयोगमा धमाधम निर्माण गरिरहेका छौं ।’ –प्रवक्ता कुँवरले भन्नुभयो । विभागले विश्वसम्पदा क्षेत्रमा रहेका उपत्यकाका अधिकांश सम्पदाहरु पुननिर्माण भइरहेको जनाएको छ । ‘केही बाँकी होलान्, अबको दुई वर्षमा सम्पन्न गर्नेछौं ।’ –प्रवक्ता कुँवरले भन्नुभयो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली आज २०७२ सालको शक्तिशाली भूकम्प गएको चार वर्षको स्मृति सभामा सहभागी हुने कार्यक्रम रहेको छ । काठमाडौं महानगरपालिका र प्राधिकरणले वसन्तपुरमा आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुन लाग्नुभएको हो । प्रम ओलीले पुनर्निर्माण भइरहेको वसन्तपुरस्थित नौतले दरबार, काष्ठमण्डप, दश अवतारलगायतका सम्पदा अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

कुमारीघर अन्योलमा
भूकम्पले जताततै चर्किएको कुमारी घर पुनर्निर्माण गर्न कसैको चासो देखिएको छैन । टेकोको भरमा अडिएको जीवित देवी बस्ने कुमारी घर कसले बनाउने भन्ने विषय अन्योल छ । गुठी संस्थानको स्वामित्वमा रहेको कुमारी घर पुनर्निर्माण गर्न आग्रह गर्दै गर्न कुमारीको चिताइदार परिवारले सरकारलाई पटकपटक आग्रह गरिसकेको छ ।

चिताइदार गौतम शाक्यले पुनर्निर्माणको जिम्मा लिएका सम्पूर्ण निकायलाई आग्रह गर्दासमेत चासो नदेखाएको बताउनुभयो । ‘गएको इन्द्रजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत टेकोमा अडेको कुमारी घरको विषयमा चासो राख्नुभएको थियो । तर कुनै पनि निकायले हालसम्म मर्मत गर्ने चासो देखाएको छैन ।’ –शाक्यले भन्नुभयो । ‘सबैले देखेकै छन्, तर कसैले निर्माण गर्ने चासो देखाएको छैन ।’ –उहाँको भनाइ थियो । जीवित देवी बस्ने घरको यस्तो अवस्था हुँदासमेत चासो नदेखाउनु गम्भीर विषय भएको उहाँको भनाइ थियो ।

गुठी संस्थानका सहप्रशासक एवं प्रवक्ता सरोज थपलियाले तीन वर्षअघि नै कुमारी घरको पुननिर्माण गर्न लागत अनुमानसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पेस गर्दा समेत बजेट नपाएको गुनासो गर्नुभयो । ‘गुठी संस्थानसँग ५० लाख रुपियाँ बजेट थियो, त्यसबेला नै पुनर्निर्माण गर्न आग्रह गर्दा सो रकम अपुग भएकाले पुनर्निर्माण हुन सकेन ।

अहिले ९ करोड रुपियाँ बजेट माग गरेका छौं, अब पुनर्निर्माण हुने आशा बढेको छ ।’ –थपलियाले भन्नुभयो । सरकारले रकम उपलब्ध नगराएकै कारण कुमारीघर पुनर्निर्माण हुन नसकेको गुठीको आरोप छ । ‘स्वामित्व हाम्रो हो तर रकम छैन । प्राधिकरणसँग बजेट माग गर्दा हालसम्म पाएका छैनौं ।’ –उहाँको भनाइ थियो ।