सूर्यविनायकमा विकास योजनाको अनुगमन


पुष्कर बुढाथोकी, भक्तपुर ।
सूर्यविनायक नगरपालिकाको पूर्वाधार विकास समितिको नेतृत्वमा सडक, पुल, सामुदायिक भवनदेखि फुटसलसम्मको निर्माणको अबस्थाबारे अनुगमन गरिएको छ । नगरपालिकाले वडा नं. ४ मा दधिकोटमा नगरस्तरीय ९७ लाख रुपैयाको लागतमा निर्माण भईरहेको हर्षचोक तर्खगाल सडकको ग्याभिङ्ग पर्खाल सहितको सिमांकन कार्यको अनुगमन गरेको छ ।

यो सडकमा भएको काममा ठेकेदार कम्पनीको लापर्वाही पाईएको र निर्माण सामाग्री गुणस्तरको नभएको पाईएको समितिका अध्यक्ष रविन्द्र सापकोटाले बताउनुभयो ।
त्यस्तै रु. ३० लाखको वडास्तरीय बजेटबाट सोही सडक खण्डको दोश्रो चरणमा भईरहेको ग्याभिङ्ग पर्खाल सहितको सिमांकन कार्यको त्यस्तै प्रदेश सरकारको रु. ५० लाख रुपैयाको बजेटमा निर्माण भईरहेको गाम्चा तर्खगाल सडक र अर्को रु. ५० लाखको लागतमा दधिकोट गाम्चा सडकको अनुगमन गरेको र सुपरभाईजरको लापर्वाही तथा निर्माणमा गुणस्तरहिन सामाग्री प्रयोग भएको पाईएको छ ।

वडा कार्यालयले र नक्सा पास गर्ने ईन्जिनियरको मिलेमतोमा निषेधित क्षेत्रमा घर निर्माण भईरहेको समितिका सदस्य अर्जुन खतिवडाले जानकारी दिनुभयो । अनुगमनमा नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले विकास निर्माणका क्रममा लापर्वाही गर्ने ठेकेदार र नगरपालिकाले खटाएको सुपरभाईजरलाई तत्काल फोटो सहितको प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो । उहाँले मापदण्ड नपुगेका निर्माण व्यावसायीको भुक्तानी रोक्का गर्ने र निरीक्षणमा खटिएका साईड ईन्चार्जलाई कारबाही गरिने उहाँले बताउनुभयो ।

नगरपालिकाको प्रशासकीय अधिकृत ज्ञवाली, समितिका अध्यक्ष एवं वडा नं. ७ का वडा अध्यक्ष रविन्द्र सापकोटा, सदस्य अर्जुन खतिवडा, ईन्जिनियर जनक न्यौपाने, नगरपालिकाका प्राबिधिक एवं कर्मचारी र नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी सहितको पत्रकार टोलीले अनुगमन गरेको हो । अनुगमनलाई आगामी दिनमा पनि निन्तरता दिईने समितिका अध्यक्ष सापकोटाले बताउनुभयो ।