त्रिभुवन विश्वविद्यालयमा २१ अर्ब बेरुजु


सरोज यादव, विराटनगर ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पस र कार्यालयहरुमा बेरुजु रकम २१ अर्ब रुपैया पुगेको छ । विश्वविद्यालयमा बेरुजु रकम १९ अर्ब रुपैयाबाट बढेर २१ अर्ब रुपैया पुगेपछि बेरुजु व्यवस्थापनमा कडाई गर्न निर्देशन दिइएको छ ।

यसमा करिब ८५ प्रतिशत सैद्धान्तिक बेरुजु रहेकाले तत्काल फछ्र्यौट गर्न त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । अस्वभाविक रुपमा बढ्दै गएको बेरुजु न्यून गर्न लेखा तथा प्रशासन प्रमुखहरुलाई उहाँले निर्देशन दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयले विराटनगरमा आयोजना गरेको आर्थिक तथा बेरुजु व्यवस्थापन कार्यक्रममा रजिष्ट्रार उपे्रतीले त्रिभुवन विश्वविद्यालयको

 शैक्षिक, प्रशासनिक र आर्थिक क्षेत्र सबै तिर बेथिति रहेका कारण सुशासन आवश्यक भएको बताउनुभयो ।

सरकारी अनुदानमा संचालन भईरहेको त्रिभुवन विश्वविद्यालयको बेरुजु बढ्दै गएपछि आम्दानी, खर्च र धरौटी गरी तीन वटा मात्र खाता संचालन गर्न सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिएकोमा त्यो अझै कार्यान्वयनमा आउन सकेको छैन । दुई दिने सो कार्यक्रममा एक नम्बर प्रदेशका १४ जिल्लाका त्रिभुवन विश्वविद्यालयका १३ वटा आंगिक क्याम्पस र एउटा क्षेत्रीय परिक्षा नियन्त्रण कार्यालयका प्रशासन र लेखा प्रमुखहरुको सहभागिता रहेको छ । बेरुजु घटाउने कार्यालयलाई पुरस्कारको समेत व्यवस्था गरिएको जनाइएको छ ।