बैतडीमा ८३ जनाले हतियार बुझाए

0
Shares

बैतडी ।
अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा ८३ हतियार संकलन भएको छ । संकलित हतियारमा सबै वैध हतियार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो । बुझाएका हतियारमा सबै भरुवा बन्दुक रहेका उहाँले बताउनुभयो ।

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आपराधिक समूह घोषणा गरी उसका गतिविधि रोक्ने निर्णय गरेसँगै अवैध हतियार बुझाउन गत चैत १ गते नै ३५ दिने सूचना जारी गरेको थियो । गृह मन्त्रालयले कानुनबमोजिम लिनुपर्ने इजाजत नलिई, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन यही वैशाख ५ गतेसम्मका लागि समयसीमा तोकेको थियो ।

बैतडीमा १ हजार ४३ भरुवा बन्दुक र ५८ बारबोर हतियार लाइसेन्स प्राप्त रहेका जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा गजेन्द्र चन्दले जानकारी दिनुभयो ।  लाइसेन्स प्राप्त हतियार हरुमा भरुवा बन्दुक स्थानीय तहमा नविकरण हुने गर्दछ भने बारबोर जिल्ला प्रसाससनवाट नविकरण गर्ने गरिन्छ ।

अवैध राखीएका हातहतियारहरु तोकिएको मितीमा नबुझाएपछी कानुन अनुसार कारवार्ही गरिने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।  फागुन २८ को मन्त्रिपरिषदको बैठकले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने गरी उसका गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको थियो ।