मोरङमा स्थानीय र प्रहरीबीच झडप, २ राउण्ड हवाई फायर


सरोज यादव, उर्लावारी ।
मोरङ्गको पथरीशनिश्चरेमा रिना वस्नेतको रहस्यमय रुपमा शव फेला परेपछि अपराधी पत्ता लगाउन दवाव दिँदै आन्दोलित स्थानीयवासी र प्रहरीबीच आज झडप भएको छ । आन्दोलित पक्षले पथरीको इलाका प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेर गेट तोडफोड गर्न खोजेपछि प्रहरीले २ राउण्ड हवाइ फायर गरेको थियो ।

प्रहरीको लाठी चार्ज र आन्दोलितको ढुंगा प्रहारबाट केही व्यक्ति घाइते भएका छन् । आन्दोलित पक्षले नगरपालिका विरुद्ध समेत नारावाजी गर्दै कार्यालयको गेट तोड्नुका साथै कार्यालयमा तालावन्दी गरेको छ । १ नम्वर वडा कार्यालयमा समेत नारावाजी गरेका छन् । पथरी उद्योग वाणिज्य संघको कार्यालयमा समेत तालावन्दी गरी हजारौंको भीड इलाका प्रहरी कार्यालय बाहिर नारावाजीमा उत्रिएको छ । सुरक्षा अवस्थालाई ख्याल गरेर वाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

विहानैदेखि पथरी बजारका पसलहरु वन्द गरेर स्थानीय आन्दोलित वनेका थिए । १०ः३० बजेदेखि स्थानीयले यातायात समेत अवरुद्ध गरेर लगातार नारावाजी गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी घनश्याम श्रेष्ठको नेतृत्वको टोलीले घटनाको छानविनको जिम्मा लिएको छ । जसमा प्रदेश प्रहरीको प्राविधिक टोली समेतले अनुसन्धान गरिरहेको उल्लेख छ ।

डीसएपी श्रेष्ठसँग संविधानसभा सदस्य चण्डीप्रसाद राई, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधि, अगुवा समाजसेवीहरुबीच घटनाको सुक्ष्म अध्ययनका बारेमा इलाका प्रहरी कार्यालयमा छलफल भइरहेको छ । पथरीशनिश्चरे नगर क्षेत्रमा स्थानीय जनप्रतिनिधिहरुले शान्ति सुरक्षाका लागि प्रहरी प्रशासनको सक्रियतामा प्रश्नचिन्ह उठाएपछि रिना वस्नेतको रहस्यमय मृत्युसँग जोडिएका संकास्पद अवस्थाका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुन्दरहरैंचा ३ वस्ने ३८ वर्षीय कमल नेपाललाई सोधपुछ अनुसन्धानका क्रममा गएराती बेलबारी क्षेत्रबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल बजगाईंले जनाए । पथरीशनिश्चरे १ त्रीवेणी चोक साझा लाइनमा डेरा वस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोप्राइटर रीनाको रहस्यमय मृत्यु भएको शव वैशाख ७ गते विहान स्थानीयले फेला पारेका थिए । रिनालाई दिनभरी र राती अवेरसम्म पनि फोन गरेका रिनाका केटासाथी नेपाललाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

वैशाख ६ गते राती पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १३ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी वस्नेत वैशाख ७ गते विहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन । टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव विहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले हत्या नै भएको कुराको प्रमाण फेला परिनसकेको बताएपनि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दावी गरेका छन् । रिनाका जेठाजु दुर्गावहादुर वस्नेतले टाउकामा प्रहार गरी हत्या गरेको बुझिने दावी गर्नुभयो ।