प्रहरी महानिरीक्षकद्वारा पुरस्कार तथा प्रशंसापत्र वितरण

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको बेरुजु फछ्र्योटमा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभयो ।

पुरस्कृत हुने प्रहरी कर्मचारीहरुमा प्रहरी नायब महानिरीक्षक कमलबहादुर जिटी, प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, प्रहरी नायब उपरीक्षकद्वय टेकबहादुर कार्की तथा मदनकुमार थापा, प्रहरी निरीक्षकहरु मातृकाप्रसाद गुरागार्इं, सुमनकुमार थापा, नवराज सापकोटा तथा दिनेश तिमिल्सिना र प्रहरी जवान फनाधर खनाल रहनुभएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सर्वोत्कृष्ट काम गरेमा इज्जत र प्रतिष्ठा बढ्ने चर्चा गर्दै संगठनको कामलाई मर्यादित बनाउन आफ्नो ज्ञान, विवेक लगाई अझ बढी ऊर्जाका साथ काम गर्नुपर्ने बताउनुभयो । उत्कृष्ट कामको उच्च कदर हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले आगामी दिनमा पनि त्रुटिरहित तरिकाले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

आव २०७३÷०७४ सम्म नेपाल प्रहरीमा कायम कुल बेरुजुमध्ये समग्रमा ८५ दशमलव १४ प्रतिशत बेरुजु फछ्र्योेट गरिएको र गृह मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयमध्ये बेरुजु फछ्र्योटमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएपछि नेपाल सरकार (माननीय मन्त्रीस्तर)को निर्णयअनुसार उहाँहरुलाई पुरस्कृत गरिएको हो ।

यसअघि वैशाख ५ गते गृह मन्त्रालयमा आयोजित समारोहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बेरुजु फछ्र्योेट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट भए अनुरुप नगद ८ हजार रुपियाँसहित प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।