‘भिक्षु अश्वघोष संसद्को इतिहासमै प्रेरणादायी व्यक्तित्व’

56
Shares

नेपाल समाचारपत्र, काठमाडौं
स्वर्गीय संघनायक भिक्षु अश्वघोष महास्थविरले राष्ट्रिय सभामा निर्वाह गर्नुभएको भूमिका संसद्को इतिहासमै एउटा प्रेरणादायी र उल्लेखनीय कार्यका रुपमा सदवै स्मरण रहिरहने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

२०४७ सालदेखि २०४९ सालसम्म राष्ट्रिय सभाको सदस्यको रुपमा भिक्षु अश्वघोषले निर्वाह गर्नुभएको भूमिकालाई अखिल नेपाल भिक्षु महासंघले राजधानीमा आयोजना गरेको गुणानुस्मरण एवं श्रद्धाञ्जली सभाका सहभागीहरुले यसरी स्मरण गरेका हुन् ।

भिक्षु अश्वघोषसँगै त्यतिबेला राष्ट्रिय सभाका सदस्य रहनुभएका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भन्नुभयो– ‘सदनमा गेरुवावस्त्र लगाएका भिक्षु अश्वघोष सांसदहरुका लागि सधैं आकर्षणको केन्द्र हुनुहुन्थ्यो । बैठकमा भिक्षु अश्वघोषले लुम्बिनीको विकास, जाति, भाषा र धार्मिक समानता, बुद्ध धर्मको विकास र विस्तारबारे खरो बोल्नुहुन्थ्यो । संसद्मा एउटा भिक्षु, त्यसमाथि निडर वक्ताको रुपमा उहाँले हामी सबैको ध्यान तानिरहनुहुन्थ्यो ।’

भिक्षु अश्वघोषसँग जोडिएको संस्मरण सुनाउँदै उपनेता नेम्वाङले फेरि सुनाउनुभयो– ‘२०४७ सालको संविधानमा धर्मनिरपेक्ष उल्लेख गराउन उहाँको ठूलै जोड रहेको थियो । त्यतिबेलाको उहाँको प्रयासले २०६४ सालमा आएर अन्तरिम संविधानमा धर्मनिरपेक्ष लेखिएपछि बल्ल सार्थकता पाएको थियो ।’

उहाँले भिक्षु अश्वघोषले संविधानमा धर्मनिरपेक्ष बनाउन पेश गरेका प्रस्तावको मस्यौदा कानुनको विद्यार्थीको नाताले आफूले लेखेको सम्झिनुभयो ।

‘संसद्मा सक्रिय भूमिका र सदस्यहरुलाई बाँड्न ठेलीका ठेली बुद्ध धर्मसम्बन्धी पुस्तक लिएर आउने भिक्षुको व्यक्तित्वले समानता, परिर्वतनको लागि राजनीति हुनुपर्ने र त्यसको अभिन्न अंग शील सदाचार रहेको भाव सदैव सम्प्रेषण गरिरहेको हुन्थ्यो भन्दै उपनेता नेम्बाङले थप्नुभयो–‘एकजना भिक्षुले राष्ट्रिय सभामा निर्वाह गर्नुभएको यस किसिमको भूमिका अहिलेसम्मकै संसद्को इतिहासमा एउटा उदाहरण हुनसक्दछ ।’

२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारमा लुम्बिनी विकास कोषको उपाध्यक्षको रुपमा भिक्षु अश्वघोषले निर्वाह गर्नुभएको सक्रियतालाई सम्झिँदै तत्कालीन कोषका सदस्य सचिव विमलबहादुर शाक्यले भन्नुभयो– ‘भिक्षु अश्वघोषले लुम्बिनी विकासको लागि लगनशील र कर्तव्य निष्ठ भई काम गर्नुभयो । ऐन, नियमको पालना र जनताप्रति जवाफदेही भई सरकारको प्रतिष्ठा जोगाउन उहाँ सधंै प्रत्यनशील हुनुहुन्थ्यो । कर्मचारीलाई समयमा उपस्थिति हुन, काम गर्न हरेक दिन निर्देशन गर्नुहुन्थ्यो, आफैले पनि काम गर्नुहुन्थ्यो ।’

सातौं संघनायक भिक्षु ज्ञाणपूर्णिक महास्थविरले भिक्षु अश्वघोष एउटा दृढ निश्चियी, खुला र स्पष्टवक्ता रहेको उल्लेख गर्दै त्याग, साधारण जीवनशैली र विद्वत्तामा एउटा उदाहरणीय भिक्षु रहेको धारणा राख्नुभयो ।

भिक्षुणी धम्मवती (गुरुमां) ले भिक्षु अश्वघोषलाई ‘कम्युनिष्ट भिक्षु’ भनेर विरोध गर्ने जमात पनि उहाँले धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीमार्फत विभिन्न जिल्ला जिल्लामा गएर धार्मिक प्रवचन, छलफल र युवाको सहभागिता जोड दिएको सक्रिय भूमिकाले प्रभावित भएको चर्चा गर्नुभयो ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरले २०३८ सालमा भिक्षु अश्वघोषसँग मिलेर खोलिएको नेपालको पहिलो भिक्षु तालिम केन्द्र संघाराम भिक्षु तालिम केन्द्रको शुरुआती वर्षका कठिनाइ र बुद्ध धर्मको विकासमा यसको समष्टिगत योगदानबारे आफ्नो भनाइ केन्द्रित गर्नुभयो ।
सो अवसरमा प्रा. सुर्वण शाक्यले सर्वसाधारणलाई सरल र सहज तरिकाले बुद्ध धर्म बुझाउन भिक्षु अश्वघोषले डेढ सय जति पुस्तक लेख्नुभएको उल्लेख गर्दै भिक्षु अश्वघोषको लेखनशैली, भाषाशैलीबारे आफ्नो भनाइ राख्नुभयो ।
अखिल नेपाल भिक्षु महासंघका भिक्षु कौण्डन्यले भिक्षु अश्वघोषले बुद्ध धर्मलाई व्यावहारिक, स्वतन्त्र चिन्तनले हेर्ने र बुझ्ने तरिकालाई सदैव जोड दिनुहुने प्रगतिशील व्यक्तित्व रहेको धारणा राख्नुभयो ।

नेपाल बौद्ध महिला संघका उपाध्यक्ष मिराज्योतिले बुद्ध धर्मको क्षेत्रमा महिलाहरुको समानता, महिलाको सशक्तीकरणका लागि परम्परागत सोचबाट बाहिर निस्किएर भिक्षु अश्वघोषले निर्वाह गर्नुभएको सक्रिय र विचारले लैङ्गिक समानताका लागि महत्वपूर्ण साबित भएको धारणा राख्नुभयो ।
यसअघि स्वर्गीय अश्वघोषको तस्वीरमा माल्यार्पण गरी वज्रचार्य गुरुजु, लामा गुरु र भिक्षुहरुले निर्वाण कामना गर्दै पाठ गरेका थिए । भिक्षु अश्वघोषको २०७५ चैत २२ गते ९३ वर्षको उमेरमा निधन भएको थियो ।