मेला महोत्सवलाई नियमन गर्न २२ बुँदे मापदण्ड निर्माण


प्रताप बानियाँ, म्याग्दी ।

विभिन्न संघसंस्थाको आयोजनामा म्याग्दीमा सञ्चालन हुँदै आइरहेका मेला महोत्सवहरु अमर्यादित बन्न थालेपछि नियमनको प्रयास गरिएको छ । मेला महोत्सवलाई थप व्यवस्थित, मर्यादित र पर्यटनमैत्री बनाउन जिल्लास्थित सरोकारवाला निकायको सहभागितामा मेलासम्बन्धी मापदण्ड बनाइएको हो ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न पूर्व सांसद, जिल्लास्थित स्थानीय तहका प्रमुख, जिल्लामा क्रियाशिल राजनीतिक दल, प्रहरी, उद्योगी, सामाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकार र सरोकारवालाको भेला तथा छलफलबाट मेला महोत्सव सञ्चालनसम्बन्धी २२ बुँदे मापदण्ड तयार गरिएको छ । मेला महोत्सवमा सामाजिक बिकृति, विसङ्गति, झै–झगडा र कुटपिटका घटनाहरु बढ्दै जान थालेपछि ‘म्याग्दी जिल्लामा सञ्चालन हुने मेला तथा महोत्सवसम्बन्धी मापदण्ड–२०७६’ बनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाको विभिन्न स्थानमा सञ्चालन हुँदै आइरहेका सानादेखि ठूला मेला महोत्सवले शैक्षिक, आर्थिक र सामाजिक क्षेत्रमा असर पु¥याएको भन्दै सरोकारवाला निकायको सहभागितामा मेलासम्बन्धी मापदण्ड निर्माण गरी सार्वजनिक गरिएको हो । कला, संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनको नाममा गरिने मेला महोत्सवमा मदिरा बिक्री वितरण गर्ने, आधा महिना लामो मेला लाग्ने, रात्री क्लबको रुपमा मेला महोत्सव परिणत हुने, दैनिक झै–झगडाका साथै महोत्सवस्थल नै असुरक्षित बन्दै गएपछि स्थानीय प्रशासन, जनप्रतिनिधि र सरोकारवालाले चासो दिएका हुन् ।

नयाँ मापदण्ड अनुसार कुनै पनि संघसंस्थाले मेला तथा महोत्सव सञ्चालन गर्दा त्यस्तो मेला तथा महोत्सवले समाजको आर्थिक, सामाजिक एवं सांस्कृतिक रुपमा पु¥याउने योगदानको खाकासहितको कार्यक्रम सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्नेछ ।

अब जिल्लाभित्र लगाइने मेला महोत्सवको अवधि साधारणतया बढीमा ५ दिन तोकिएको छ भने विशेष महत्वका जिल्लाको पहिचान, संस्कृति, उत्पादन तथा पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धिमा ठोस सहयोग पुग्ने खालका महोत्सव जिल्लास्थित सरोकारवालाहरुसँग सहमति गरी बढीमा ७ दिनसम्म मात्रै सञ्चालन गर्न सकिने मापदण्ड बनाइएको छ । विद्यालय हाताभित्र कुनै किसिमका मेला, जात्रा सञ्चालन गर्न नपाइने व्यवस्था पनि गरिएको छ ।

त्यस्तै मेला तथा महोत्सवलाई मदिरामुक्त बनाइनेछ भने महोत्सव स्थलभित्र खुला या बोतल बन्द कुनै पनि प्रकारको मदिरा बेचबिखन तथा सूर्तिजन्य बस्तु निषेध गरिएको छ । त्यसैगरी जुवातास, खोरखोरेलगायत जुवाजन्य खेलहरु पूर्णरुपमा निषेध गरिनुका साथै मेला तथा महोत्सवका कार्यक्रमहरु बेलुका ७ बजेभित्रै समापन गर्नुपर्ने जस्ता विषयहरु मापदण्डमा समावेश गरिएको छ । मेला महोत्सवको अवधिमा मापदण्ड विपरीतका गैरकानुनी क्रियाकलापहरु भएमा मेला आयोजक संस्थाको संयोजक र त्यस्तो गतिविधिमा संलग्न जो कोही व्यक्तिलाई समेत स्थानीय प्रशासनले कानुनी दायराभित्र ल्याई आवश्यक कारवाही गरिने जनाइएको छ ।

म्याग्दी जिल्ला पर्यटन र संस्कृतिले धनी जिल्ला भएकाले म्याग्दीमा सञ्चालन हुने मेला महोत्सवलाई व्यवस्थित, मर्यादित र पर्यटनमैत्री बनाउनका लागि मेलासम्बन्धी मापदण्ड बनाइएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । उहाँले मेला महोत्सवलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता रहेको हुँदा मापदण्ड निर्माण गरी सार्वजनिक गरिएको जानकारी दिनुभयो ।