नव निर्मित पौडी पोखरीमा खेल भएन

0
Shares

कविरस शर्मा, बांके ।
तोकिएको समयमा नेपालगञ्ज रंगशालामा निर्माण गरिएको पौडी पोखरीमा खेल नभएपछि खेलस्थलाई अन्यत्र सारेर भएपनि आइतबारदेखि खेल सञ्चालन गरिएको छ । यस अघि राष्ट्रिय खेलकूद परिषद (राखेप) ले निर्धारित समयमा नै नव निर्मित पौडी पोखरीमा प्रतिस्पर्धा हुने भनेर दावी गर्दै आएपनि त्यसो हुन नसकेपछि अन्ततः पौडीलाई होटल सिग्नेटमा रहेको २५ मिटर लम्बाइको सर्ट कोर्षमा सारिएको हो ।

यसले प्रतियोगता तोकिएकै मितिमा त सुरु भयो तर करौडौ रुपैयां लागतमा निमार्ण गरिएको नेपालगञ्जस्थित भर्खरै निर्माण सम्पन्न पौडीमाथिको औचित्यमाथि भने प्रश्न तेर्सिएको छ । अन्तिममा पौडीको खेलस्थल सारिएपछि यो विषय सबैको लागि चासो बनेको छ । प्राय ५० मिटरमा हुने गरेको यो प्रतियोगिता अहिले २५ मिटरको कोर्षमा गर्दा यो आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत २१औं राष्ट्रिय प्रतियागिता सर्ट कोर्षको राष्ट्रिय प्रतियोगिताको रुपमा परिणत भएको छ । यस विषयमा नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यको धारणा यस्तो रहेको छ ।

उनले २५ मिटरको कोर्षलाई पनि अन्तर्राष्ट्रिय मान्यता रहेको बताए । उनले भने,–‘२५ मिटर सर्ट कोर्ष हो र ५० मिटर लङ कोर्ष हो । २५ मिटरको कोर्षमा प्रतियोगिता आयोजना गर्दा खेलको ढांचामा केही फरक पर्दैन । यहां ५० मिटरको पौडी पोखरीको अभावका कारण मात्र यस्तो भएको हो । तर यसको अर्थ प्रतियोगिताको स्वरुप नै बदलिएको चाहिं होइन । खेलाडीले पूरा गर्नु पर्ने दूरीमा कुनै फेरबदल भएको छैन । ५० मिटरको पौडी पोखरीमा खेलाडी सोझै अर्को कुना पुग्छ भने २५ मिटरको पौडी पोखरीमा दूरी पूरा गर्न खेलाडीले दोहा¥याएर सुरु भएको स्थानमा फर्कनुपर्छ ।‘

५० मिटरको कोर्षमा हुदै आएको प्रतियोगिता २५ मिटरको कोर्षमा गर्नाले सर्ट कोर्षमा नयां राष्ट्रिय किर्तिमान बन्ने सम्भावना मात्र रहेको र यसले प्रतियोगितामा भने केही असर नपर्ने उनले बताए । यसले खेलाडीलाई असर नगर्ने र धेरै जसो खेलाडीले अभ्यास पनि २५ मिटरमा नै गर्ने गरेको बताए । विशेषगरी मोफसलबाट आउने खेलाडीहरुले २५ मिटरकै कोर्षमा अभ्यास गर्ने गरेको छ ।

यसले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीलाई कस्तो प्रभाव पार्ला भन्ने विषयमा जिज्ञासा राख्दा उनले विगत डेढ दशकदेखि दुवै कोर्षको प्रतियोगिता अन्तराष्ट्रिय पौडी महासंघले गर्दै आएको र नेपाली खेलाडीले पनि प्रतिस्पर्धा गरेको बताए ।

यता खेलाडीहरु भने उत्सुकताका साथ नेपालगञ्जमा निर्माण भएको नयां पौडी पोखरीमा खेल्न लालायित थिए । तर खेलस्थल सारिंदा भने दुखी बनेका छन् । तर अपेक्षा गरे अनुसारको खेलस्थलमा खेल्न नपाएपनि तोकिएकै मितिमा पौडीको प्रतिस्पर्धा गर्न पाएकोमा भने खेलाडीहरु उत्साहित देखिएका छन् ।
पौडीको प्रतिस्पर्धा अर्को केही दिनसम्म चल्ने भएकोले फेरि पनि नव निर्मित पौडी पोखरीमा खेलाउन सक्ने सम्भावना कत्तिको छ भन्ने प्रश्नमा अध्यक्ष बज्राचार्य सकारात्मक रहेको बताए । राखेपले पौडी पोखरीको अपडेट भइरहेकोले केही दिन भित्र खेलाउन सकिने बताएको छ । यो विषयमा उहांहरुले प्रतियोगिताकै दौरानमा हामीलाई नव निर्मित पौडी पोखरी तयार गरिदिएमा हामी खेलस्थललाई सार्न तयार रहेको अध्यक्ष बज्राचार्य बताउंछन् ।

अहिले देखिएको अन्यौल ब्यवस्थापनले खेल पदाधिकारी तथा खेलाडीहरुको मनस्थितिमा दवाब प¥यो होला भन्ने विषयमा सोध्दा उनले स्पोर्ट्स भनेको यही हो, हाम्रो जस्तो अविकसित देशहरुमा योजना अनुसार कार्य पूरा नहुने सम्भावना धेरै रहन्छ, यो हुनु दुखद कुरा हो । यस्तो अवस्थामा हामीले बाध्य भएर विकल्पहरु पनि पहिल्यै सोच्नुपरेको बताए ।

अहिले नव निर्मित पौडी पोखरी अन्तर्राष्ट्रिय मापदन्ड अनुसार नबनेकोले प्रतियोगिता सञ्चालन नगरिएको हो कि भन्ने चर्चा चलेको विषयमा राखेप सदस्य सचिव केशवकुमार विष्ट नव निर्मित पौडी पोखरीको निर्माणमा कुनै प्राविधिक त्रुटि नरहेकोे बताउंछन् । प्रयोगका लागि परिक्षण भइरहेकोले त्यहां पूर्व निर्धारित मितिभन्दा केही दिन खेल सार्नु पर्ने अवस्था देखिएको बताए । उनले भने,–‘पौडी पोखरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै निर्माण गरिएको हो र निर्माणमा कुनै त्रुटि भएको छैन ।‘