युवालाई च्याउ खेती तालिम


हिक्मत नेपाली, दैलेख ।
दैलेखको भैरबी गाउँपालिका–६ कुसापानीका युवा रमेश भण्डारी दुई दिने व्यवसायिक तरकारी र च्याउ खेती तालिममा सक्रिय सहभागि जनाए । भण्डारीले तालिममा प्रयोगात्मक तथा सैद्धान्तिक सिप सिकेका छन् । उनले तरकारी र च्याउ खेती गर्ने प्रविधि सिकेसँगै आफु व्यवसायिक खेतीमा लाग्ने बताएका छन् ।

उनिजस्तै सोहि तालिममा सहभागि हुनुभएकी भैरबी –४ भैरिकालिकाथुमका कृष्णा विकको योजना फरक छ । उनले च्याउ र तरकारी खेती तालिम पछि व्यवसायलाई थप व्यवस्थित बनाउने योजनामा सुनाइन । सोहि गाउँपालिका वडा नं. ७ पानीपोखराका भक्त रिजालले तालिम पछि व्यवसायिक खेती गर्ने योजना सुनाए ।

यि तीन युवा जस्तै यहाँका ८० जना युवाहरुले तालिम पाएपछि व्यवसायी बन्ने लक्ष राखेका छन् । तालिम पाएका युवाहरुले व्यवसायिक तरकारी र च्याउ खेती सुुरु गर्ने बताएका छन् । उनिहरुले खेती गर्नका लागि गाउँपालिका र कृषि ज्ञानकेन्द्रमा सहयोगका लागि अनुरोध गर्ने भएका छन् । एईआएन लक्जेम्बर्र्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धनका लागि (आधार) परियोजनाको आयोजनामा युवाहरुका लागि दुई दिने तालिम प्रदान गरिएको थियो ।

भैरवी गाउँपालिकाका ७ वटै वडाका युवा क्लबका पदाधिकारीहरुका लागि संचालन गरिएको तालिम आइतवार सकिएको छ । यहाँका ८० जना युवाहरु सहभागि तालिम दुई स्थानमा संचालन गरिएको परियोजनाका कृषि प्राविधिक कमल शाहीले बताउनुभयो । भैरवी गाउँपालिकाको वडा नं. १, २, ३ र ५ का युवाका लागि डाडीमाडी बजार तथा वडा नं. ४, ६ र ७ का लागि सिलंगी बजारमा तालिम संचालन गरिएको कृषि प्राविधिक शाहीले बताउनुभयो । उनिहरुलाई सैद्धान्तिक र प्रयोगात्मक सिप प्रदान गरिएको उहाँको भनाई छ ।

युवाहरुलाई रोजगारी सृजना गर्ने र व्यवसायिक बनाउन तालिम प्रदान गरिएको परियोजनाका दुर्गा गिरीले बताउनुभयो । तालिमको सहजिकरण भैरवी गाउँपालिकाका कृषि प्राविधिक दिपेन्द्र थापा र परियोजनाका कृषि प्राविधिक कमल शाही र सम्झाना थापाले गरेका थिए ।