संसद अधिवेशन १६ गतेबाट


गंगा बराल, काठमाडौं ।
बजेट अधिवेशन भनेर चिनिने संघीय संसदको चौथो अधिवेशन आगामी बैशाख १६ गतेबाट बस्ने गरी बोलाइएको छ ।
प्रतिनिधिसभाको कार्य व्यवस्था महाशाखाका सहसचिव बंशिराज पौडेलले राष्ट्रपति कार्यालयबाट बैठक आव्हानसम्बन्धी पत्र आइतबार आएको बताउनुभयो । केही दिनअघि नै बैठक छिट्टै बस्ने भनेपछि संघीय संसद सचिवालयले तयारी गरिरहेको पनि पौडेलले जनाउनुभयो ।

अघिल्लो वर्षको तुलनामा यो बजेट अधिवेशन यसपालि १ साताअघि नै बोलाइएको छ । गतवर्ष बैशाख २३ गतेबाट मात्र बजेट अधिवेशन सुरु भएको थियो । यो अधिवेशनको सुरुमा प्रि–वजेट छलफल हुनेछ । जेष्ठ १५ गते सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक वाध्यता छ ।

२०७४ फागुन २१ गते सुरु पहिलो अधिवेशन चैत्र २० गतेसम्म र २०७५ बैशाख २३ गतेबाट सुरु दोस्रो अधिवेशन असोज ११ गतेसम्म चलेको थियो । पौष ११ गतेबाट सुरु भएको तेस्रो अधिवेशन चैत्र १० गते राती १२ बजेबाट अन्त्य भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आव्हान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । बैठकको पहिलो दिन विभिन्न दलका नेताले सम्बोधन गर्ने प्रचलन छ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा रहेका छन् । अहिलेसम्म दुवै सभाको अधिवेशन एकैदिन सुरु भएर एकै दिन अन्त्य हुँदै आएको छ ।