तीन वर्षअघि शून्य, अहिले २३, विषयप्रति आकर्षण बढ्यो ः डीन


ईश्वरराज ढकाल, काठमाडौं
तीन वर्षदेखि शून्य विद्यार्थी भएको इतिहास विभागमा यो शैक्षिक सत्रमा स्नातकोत्तर तहमा २३ जना विद्यार्थी भर्ना भएका छन्। विद्यार्थी नपुगेर पठनपाठन ठप्प हुने अवस्थामा पुगेको विभागमा ८ वर्षपछि २३ जना विद्यार्थी भर्ना भएका हुन्। यसअघि २०६७ सालमा १६ विद्यार्थी भर्ना भएका थिए। शून्य विद्यार्थी भएपछि सो विभागलाई के गर्ने भन्ने समस्या परेको अवस्थामा विभागमा एकाएक विद्यार्थी संंख्या बढेको हो।

पछिल्लो तथ्याङ्कअनुसार स्ववियु निर्वाचनताका २०६९ सालमा स्ववियु निर्वाचनमा भोट दिने प्रयोजनका लागि ९३ जना विद्यार्थी भर्ना भएपछिका वर्षमा विद्यार्थी भर्ना न्यून हुँदै गएको थियो। २०६७ सालमा १६, २०६८ मा ११, २०७० मा ७, २०७१ मा ६, २०७२ मा २, २०७३ मा १ जना मात्र विद्यार्थी भर्ना भएका थिए। २०७४ सालमा त एक जना पनि विद्यार्थी भर्ना भएनन्। अघिल्लो वर्ष कुनै पनि विद्यार्थी भर्ना नभएको विभागमा विद्यार्थीको संख्या २३ पुगेपछि विभागका प्रमुखसहित सबै कर्मचारी तथा शिक्षक मख्ख परेका छन्। विभागले विद्यार्थी बढाउन नयाँ योजना अघि बढाएपछि विद्यार्थीको संख्या वृद्धि भएको हो।

इतिहास विषयमा विद्यार्थी भर्ना हुन छाडेपछि विभागले पुस १९ गते पत्रकार सम्मेलन गरी विद्यार्थी आकर्षित गर्ने योजना सार्वजनिक गरेको थियो। विभागले फागुन १२ देखि कक्षा सञ्चालन गरिसकेको छ। सो विषयको पठनपाठन सेमेस्टर प्रणालीमा भइरहेको छ।

विभागीय प्रमुख डा. शंकर थापाले योजनाले भन्दा पनि विद्यार्थीलाई बिहानी कक्षामा पढ्न सजिलो भएकाले विद्यार्थीको संख्या बढेको हुन सक्ने दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘अहिले विद्यार्थीको संख्या बढेको छ, अब विभागलाई थप व्यवस्थित गरी अघि बढाउनेछौं।’ यस वर्ष विभागमा ४७ जनाले प्रवेश परीक्षा दिएका थिए। विभागले सार्वजनिक गरेको कार्ययोजनाअनुसार आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई यथासम्भव छात्रवृत्तिको व्यवस्था गर्ने र प्राज्ञिक महत्वका कार्यक्रममा विद्यार्थीलाई समावेश गराउने रहेको थियो।

मानविकी तथा सामाजिक संकायका डीन प्राडा शिवलाल भुसालले इतिहास विभागमा विद्यार्थीको संख्या बढेको बताउनुभयो। केही विषयमा नवीनतम प्रयोग गर्न शुरू गरेका कारण इतिहास विषयमा विद्यार्थी बढेको हुन सक्ने उहाँको भनाइ थियो।

उहाँले भन्नुभयो– ‘पहिला इतिहास विषयबारे महत्व बुझ्न नसकेका कारण विद्यार्थीको आकर्षण घटेको होला तर अहिले इतिहास पढ्नैपर्ने विषय रहेछ भन्ने विद्यार्थीको धारणा बढेका कारण संख्या बढेको हो।’ सेमेस्टर प्रणाली र बिहानी कक्षा सञ्चालन गरेका कारण विद्यार्थीको संख्या बढेको हुन सक्ने डीन भुसालको भनाइ थियो। यो वर्ष स्ववियु निर्वाचनको हल्ला चलेको र छात्रवृत्तिको अवसर पाउने भएका कारण पनि विद्यार्थीको संख्या बढेको हुन सक्ने विभागको आकलन छ।

विभागका सहप्राध्यापक डा. उद्धव पुरीले इतिहास विषयमा नयाँ कोर्स थपेका कारण विद्यार्थी संख्या बढेको हुन सक्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘त्रिविको नियमअनुसार विद्यार्थीले छात्रवृत्ति पाउन सक्ने भएर पनि संख्या बढेको हुन सक्छ।’

त्रिवि मानविकी तथा सामाजिक संकायअन्तर्गत २२ विभागमा विद्यार्थी अध्ययन गरिरहेका छन्। अहिले इतिहास मात्रै होइन भूगोल, बौद्ध दर्शन, ल्याङग्वेस्टिक, संस्कृतिलगायतका विषयमा पनि विद्यार्थीको संख्या न्यून त कुनैमा शून्य हुँदै गएका छन्। तर बढ्ने क्रममा रहेको डीन भुसालको भनाइ थियो।

उहाँले इतिहास विभागले नयाँ योजना सार्वजनिक गरेको कारण विद्यार्थी संख्या बढेको बताउनुभयो। प्रायः शून्य विद्यार्थी भएका केही विभागमा समेत विद्यार्थी संख्या बढ्दै गएको उहाँको भनाइ छ।

विद्यार्थी नपुगेर पठनपाठन ठप्प हुने अवस्थामा पुगेको विभागमा ८ वर्षपछि २३ विद्यार्थी भर्ना भएका हुन्।