नेपाली पत्रकारिताको एउटा दरिलो खम्बा ढलेको दिन 

0
Shares

ज्ञानमणि नेपाल कालोटोपी, काठमाडौं
०७६ बैशाख ४ गते, नेपाली पत्रकारिता क्षेत्रका लागि एउटा दुःखद दिन । समग्रक्षेत्रले नै एउटा अभिभावक गुमाएको दिन । नेपालमा व्यावसायीक पत्रकारिताका शुरुआतकर्ता आदरणिय पुष्करलाल श्रेष्ठलाई गुमाएको दिन ।
पुष्करलाल श्रेष्ठ, तत्कालिन कामना प्रकाशन समुह (हालको कामना न्युज पब्लिकेशन) का जन्मदाता हुनुहुन्छ । त्यति बेला अहिले जस्तो संचार माध्ययमको पहुँच नहुँदा र छाप्ने प्रेस नहुँदा पनि उहाँले पत्रिका छापेर नागरिकलाई सूचना दिने कार्यको शुरुवात गराउनुभयो । यसर्थ पनि निजी प्रकाशन गृह खोलेर नेपालमा व्यावसायिक पत्रकारिताको जग बसाल्नमा उहाँको ठूलो योगदान छ ।

तत्कालिन अवस्थामा मनोरञ्जन क्षेत्रबाट उहाँले पत्रकारिता शुरु गर्नुभएको थियो । उहाँकै अगुवाईमा शुरु गरिएको कामना सिने मासिक हाल पनि निरन्तर प्रकाशनमै छ । कामना प्रकाशनअन्र्तगत कामनाका अतिरिक्त साधना, महानगर र नेपाल समाचारपत्र राष्ट्रिय दैनिक प्रकाशनमा छन् । देशमा अहिले जहाँ जति पनि पत्रकारहरु छन्, ती सबैजसोको पत्रकारिता कामना प्रकाशनबाटै शुरु भएको छ । यहाँ काम गरेर मात्र अधिकांश पत्रकारहरु अन्य संचारसंस्थामा गएका हुन् । यसर्थ पनि पुष्करलाल श्रेष्ठ धेरै पत्रकारका अभिभावक र गुरु हुनुहुन्छ ।

पुष्करलाल सरको हँसिलो स्वभाव र मिजासिलो व्यवहारले जो कसैलाई पनि आर्कषित गर्ने गथ्र्यो । सानो होस वा ठूलो जोसुकै मान्छे भेट्न आए पनि उहाँ उत्तिकै समय दिनुहुन्थ्यो । उहाँले आफूले पत्रकारिता गर्दाका त्यति बेलाका दुःख, झण्जट र अप्ठ्याराहरुलाई उहाँको जीवनीमा आधारित अशोक सिलवालद्वारा लिखित कलम पुस्तकमा सबै व्यक्त गर्नुभएको छ । एउटा निर्भिक र निडर पत्रकार तथा खरो स्वभावका स्पष्ट वक्ता हुनुहुन्थ्यो पुष्कर सर ।
मेरो व्यक्तिगत कुरा गर्नु पर्दा पहिलो पटक उहाँलाई मैले भेटेको ०५९ सालमा हो । शुरुमा त पातलो ज्यान भएको मान्छे यो को होला जस्तो लागेको थियो । तत्कालिन समयमा मेरा आदरणिय अंकल बद्री तिवारी महानगरको सम्पादक हुनुहुन्थ्यो । म उहाँलाई भेट्न जाने क्रममा कामना प्रकाशनकै कार्यालयमा पुष्कर सरसँग भेट भएको थियो ।

त्यसको केहि समयपछि ०६० सालमा मैले नेपाल समाचारपत्रबाटै प्रशिक्षार्थी पत्रकारको रुपमा पत्रकारिता शुरु गरें । त्यस समयमा मलाई उहाँले धेरै कुरा सिकाउनु भयो । केहि गल्ती नै भइहाले पनि उहाँ हाँसि हाँसि सिकाउनुहुन्थ्यो । सिक्दै काम गर्दै गएँ । आजसम्म पनि म नेपाल समाचारपत्रमै काम गरिरहेको छु । उहाँको त्यो गुन र सहयोगलाई मैले कहिल्यै भुलेको छैन, भुल्ने पनि छैन ।
एकपटकको कुरा म सधैं सम्झन्छु । पछिल्ला केहि वर्ष यता विशेष गरि विचार प्रधान लेखहरु लेख्नमा म अलि समय दिन थालेको थिएँ । ०७२ फागुन २४ गते महिला दिवसको बारेमा एउटा लेख समाचारपत्रमा छापियो । त्यति बेला राजधानीमा स्वीस विमान रनवेमै धसिएको घटनाले केहि दिन निकै सनसनी मचाइरहेको विषय पनि उस्तै थियो । मैले २४ गते बेलुका त्यो विषयमा पनि लेख तयार गरेर पुष्करसरलाई मेल गरें । भोलिपल्ट विहानै त्यो लेख पनि छापिएर आएछ । लगातार २ दिन एउटै स्तम्भमा विचार छापिने कामनाको इतिहासमै तिमी एउटा मात्रै पत्रकार हौ, राम्रो छ, अझै राम्रो गर्नु भनेर उहाँले प्रशंसा गर्नुभएको त्यो क्षण म कहिल्यै पनि विर्सन सक्दिन ।

हुन त म उहाँसँग त्यति धेरै भेट्न पाउँदैनथें । जहिले भेट्थें आफ्नै बुबासँग भेटिए जस्तै लाग्थ्यो । उहाँसँग म धेरैजसो अनलाइनमा कुरा गर्थें । विहानै ब्याडमिन्टन खेल्दै छु भन्नु हुन्थ्यो । मैले उहाँलाई एउटा पत्रकारको रुपमा मात्र नभएर खेलप्रेमीका रुपमा पनि चिनेको थिएँ ।

दौडको विषय धेरै मन पर्ने रहेछ उहाँलाई । एकपटक उहाँले किर्तीमानी धावक संजय पण्डितको बारेमा फिचर स्टोरी बनाउन भन्नु भयो । त्यो आजभन्दा करिव ३ वर्ष अघिको कुरा हो । मैले भोलीपल्टै बनाएर मेल गरें । २ दिनपछि महानगर पेजमा आधापेजको स्टोरी छापियो । उहाँले त्यतिबेला पनि निकै खुशी व्यक्त गर्नु भएको थियो । तर विडम्बना आज म सँग ती संजय पण्डित पनि छैनन् अनि आदरणिय पुष्करसर पनि ।

जन्मेपछि मर्नु सबैले पर्छ । र ६० वर्षकै उमेरमा पुष्करसरले हामी सबैलाई छोडेर जानुहोला जस्तो कहिल्यै लागेको थिएन । उहाँले देखाउनुभएको मार्गमा हामी संचारकर्मीहरुले हिड्न सक्यौं भने पक्कै पनि पुष्करसर प्रति सच्चा सम्मान हुनेछ । आज हामीले एउटा होनहार गुरु गुमायौं । देशले एउटा सच्चा सपुत गुमायो । पत्रकारिता क्षेत्रमा अपुरणिय क्षति भयो । यो दुःखद घडीमा म उहाँको मृतआत्माले शान्ती पाओस् र परिवारजनमा धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन् भन्ने कामना गर्न चाहन्छु ।