हिमाली क्षेत्रमा मूल्यवृद्धि उच्च

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
उपभोक्ता मूल्यवृद्धि अन्यत्रभन्दा हिमाली क्षेत्रमा उच्च रहेको तथ्यांक आएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअन्तर्गत चालू आर्थिक वर्षको आठ महिनाको प्रविदेनमा सो कुरा उल्लेख गरिएको हो ।

राष्ट्र बैंकका अनुसार फागुन महिनामा हिमालमा ५ दशमलव ५ प्रतिशत, पहाडमा ४ दशमलव ६ प्रतिशत, काठमाडौं उपत्यकामा ४ दशमलव ६ प्रतिशत र तराईमा ३ दशमलव ६ प्रतिशत मूल्य वृद्धि रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ६ प्रतिशत, ५ दशमलव ६ प्रतिशत, ४ दशमलव ५ प्रतिशत र ६ दशमलव ३ प्रतिशत रहेको थियो ।

त्यस्तै फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव २ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६ प्रतिशत रहेको थियो । फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २ दशमलव २ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ५ दशमलव ६ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५ दशमलव ८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ६ दशमलव ३ प्रतिशत रहेको थियो ।

फागुन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति २ दशमलव ३ प्रतिशत रहेको थियो । पेट्रोलियम पदार्थ, तयारी पोशाक, यातायात तथा उपकरण र पार्टस्लगायतका वस्तुहरूको मूल्यमा भएको वृद्धिले थोक मुद्रास्फीति बढ्न गएको केन्द्रीय बैंकले जनाएको छ ।

उक्त महिनामा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकांक १० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकांक ७ दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकांक ६ दशमलव ६ प्रतिशत र ज्यालादर सूचकांक ११ प्रतिशतले वृद्धि भएको छ ।
फागुन महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव २ प्रतिशत र भारतको २ दशमलव ९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ६ प्रतिशत र भारतको ४ दशमलव ३ प्रतिशत रहेको थियो ।