सगरमाथामा साढे ३ सयसहित सात सय जनालाई हिमाल आरोहण अनुमति



नेपाल समाचारपत्र, काठमाडौं
यस वर्षको बसन्त ऋतुमा सर्वाेच्च शिखर सगरमाथाको आरोहणका लागि साढे तीन सय जनाभन्दा बढीले आरोहणले अनुमति लिएका छन् ।
६ जना पुरुष ६ जना महिला नेपालीसहित ४६ देशका ३६ समूहमा २ सय ९० पुरुष र ७० महिला गरी कुल ३ सय ६१ जनाले सोमबारसम्म सगरमाथा आरोहणको लागि अनुमति लिएको पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाले जानकारी दिनु भयो ।

यस वर्ष सगरमाथा आरोहण गर्नको लागि भारतबाट ८३, अमेरिकाबाट ६७, चीनबाट ५९, वेलायतबाट ४०, नेपालबाट १२ जना गरि कुल ३ सय ६० जनाले सोमबारसम्म आरोहण अनुमति लिएका छन् । यसवापत रोयल्टी दस्तुर करिब ४२ करोड रुपिया“ संकलन भएको छ । सगरमाथा आरोहणका लागि विदेशीले सगरमाथा आरोहण अनुमति लिन प्रतिव्यक्ति ११ हजार अमेरिकन डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ । नेपालीको हकमा भने प्रतिव्यक्ति ७५ हजार नेपाली रुपिया“ रोयल्टी तिर्नुपर्ने व्यवस्था रहेको छ ।

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ३२ समूहका आरोही समूह त्यसतर्फ लागेको विभागका निर्देशक थापाले जानकारी दिनुभयो । सगरमाथासहित अन्य हिमाल आरोहणका लागि आरोहीहरु ब्रिफिङ सकेर गन्तव्यमा लागेका हुन् ।

२० हिमालमा ६ सय ९२ आरोहीले लिए अनुमति
पर्यटन विभागले हिमाल आरोहणको लागि ६ हजारभन्दा माथिका अग्ला २० हिमाल आरोहणको लागि ७८ समूहका ६ सय ९२ जनाले अनुमति लिएका छन् ।

विभागले दिएको जानकारीअनुसार ल्होत्सेमा ६६ जना, मकालुमा ५३ जना, अमादब्लम ३९ जना, अन्नपूर्ण प्रथममा २३ जनासहित विभिन्न हिमालमा ६ सय ९२ जनाले अनुमति लिएका हुन् । जसबाट ४६ करोड ५९ लाख ७० हजार २ सय ५० रुपिया“ रोयल्टी संकलन भएको छ ।

सरकारले आरोहीहरूको नियमन र अनुगमन गर्नको लागि तीन दर्जनभन्दा बढी सम्पर्क अधिकृत खटाएको छ । जसका लागि मन्त्रालय र विभागबाट नासुदेखि उपसचिवसम्मका कर्मचारीलाई ७ दिनको तालिम दिएर खटाउने गरेको छ । पर्वतारोहण नियमावलीअनुसार ६ हजार ५ सयभन्दा बढीको उचाई भएको हिमाल आरोहणमा सरकारले सम्र्पक अधिकृत खटाउने व्यवस्था छ ।

विभागले यसपटक हिमाल आरोहण खटाउने सम्पर्क अधिकृतको टोलीलाई समावेशी बनाएर महिलालाई पनि खटाएको निर्देशक थापाको भनाइ छ । विभागले निजामती कर्मचारीबाहेक नेपाली सेना, प्रहरीलाई पनि खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्