सम्पदा मार्गको गुरुयोजना तयार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
छोटो दूरीमा रहेको दुई सम्पदाबीचको सम्बन्धलाई जोड्न काठमाडौं महानगरपालिकाले सम्पदा मार्ग गुरुयोजना तयार गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भु र हनुमानढोका दरबार क्षेत्रबीचको २ दशमलव २ किलोमिटर दूरीसम्म जोडेर सम्पदा पदमार्ग नामकरण गरिएको छ । गएको वर्ष वैशाख २ गते तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको पदमार्गको यो वर्ष गुरुयोजना तयार भएको हो । अधिकारीको ताप्लेजुङको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उहाँको सपना पूरा गर्न काठमाडौं महानगरपालिकाले गुरुयोजना तयार पारेको हो ।

विश्व सम्पदा दिवस २०१९ अप्रिल १८ अर्थात् भोलि वैशाख ५ गते गुरुयोजना सार्वजनिक गरिने भएको छ । गुरुयोजनामा पदमार्गको बारेमा विस्तृत अध्ययन गरिएको छ । बिहान ७ बजे सम्पदा मार्ग घुमेपछि गुरुयोजना सार्वजनिक गरिने कार्यतालिका तयार पारिएको छ ।

कामपा शहरी योजना आयोगले तयार गरेको गुरुयोजनामा नेवारी संस्कृति र सयौं वर्ष पुराना सम्पदालाई संरक्षण गर्ने विषयमा गुरुयोजनाले ध्यान केन्द्रित गरेको छ । सम्पदा पदमा क्षेत्रका विभन्न कालखण्डमा निर्माण भएका मन्दिर, बहाःबही, ढुंगेधारा, पाटी, सत्तल आदि जस्ता सम्पदा अवलोकन गर्न सकिनेछ ।
महानगरपालिकाले ती सम्पदा पहिचान गर्न विभिन्न संकेत चिन्ह राख्ने, स्थानीय घरलाई परम्परागत स्वरुपमा ल्याउने, ठाउँठाउँमा स्थानीयता झल्किने चित्रकला, भित्तेचित्रको प्रदर्शन गर्ने, मार्गमा भएका पाटी, पौवा तथा सत्तलको मर्मत, सम्भार तथा संरक्षण गर्नेछ । सम्पदा पहिचान गराउनका लागि आर्ट ग्यालरी, पुस्तकालय र पर्यटन सूचना केन्द्र स्थापना गरिनेछ ।

पदमार्गमा रहेका मूर्त एवं अमूर्त सम्पदा तथा सांस्कृतिक परम्पराको अभिलेखीकरण, प्रवद्र्धन र संग्रह गर्ने योजनासहित पदमार्गको विकासको चित्रलाई तीन चरणमा विभाजन गरिएको छ । वसन्तपुरदेखि दमाइँटोल, डल्लुदेखि भगवानपाउ र विष्णुमती नदी करिडोरसम्मको क्षेत्रलाई चरणबद्ध विकास गर्ने गुरुयोजनामा उल्लेख छ । करिब ३ वर्षभित्र सम्पन्न गर्ने योजनासहित तयार गरिएकोे गुरुयोजनामा सबै मूर्त र अमूर्त सम्पदाहरुको तथ्यांक संकलन गरिएको छ । सबै सम्पदाको ढाँचा तयार गरिएको छ ।

यो क्षेत्रमा एकै प्रकारको घरको स्वरुपको ढाँचासमेत तयार गरिएकोे छ । यसका लागि पहिलो चरणमा करिब १० करोड रुपियाँ लाग्ने अनुमान गरिएकोे छ ।

‘आगामी आर्थिक वर्षमा थप बजेटको व्यवस्था गर्ने गरी तयारी गरिरहेका छांै’ –कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भन्नुभयो । उहाँले स्वयम्भू र हनुमान ढोकाबीचमा अवलोकन योग्य प्रशस्त संरचना भएको र छोटो दूरीमा भएका दुई सम्पदालाई क्रमशः प्राचीन भौतिक संरचनाले जोडिएको कारण पदमार्गको गुरुयोजना तयार गरिएकोे बताउनुभयो ।

वसन्तपुरदेखि दमाइँटोल, डल्लुदेखि भगवानपाउ र विष्णुमती नदी करिडोरसम्मको क्षेत्रलाई चरणबद्ध विकास गर्ने गुरुयोजनामा उल्लेख छ ।

सम्पदा क्षेत्रको अद्वितीयपनलाई पर्यटन र स्थानीयको जीवन सुधारसँग जोडेका कारण यस्को महत्व बढ्दै गएको उहाँको भनाइ थियो । कामपाको शहरी योजना आयोगले तयार पारेको गुरुयोजनाअन्तर्गत २२ सय मिटरको दूरीमा पर्ने मूर्त र अमूर्त सम्पदाको तीन चरणमा विकास गरिने उल्लेख छ ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलले संस्कृतिको पहिचान, अभिलेखीकरण र संरक्षण गर्नुलाई महानगरले प्राथमिक कामका रुपमा अघि सारेको बताउनुभयो । काठमाडौं महानगर क्षेत्रभित्र विश्व सम्पदा सूचीमा सूचीकृत भएका ४ वटा स्थान छन् । सम्पदा पदयात्राले उक्त दूरीको क्षेत्रभित्र रहेका स्थानीय सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने, स्थानीय जनताको आर्थिक विकासमा टेवा पु¥याउने, आन्तरिक एवं बाह्य पर्यटनको विकास गर्ने र सम्पदाको मूल्य मान्यताबारे जनमानसमा चेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

सम्पदा पदयात्रामा हनुमानढोका, काष्ठमण्डप, मरु गणेश, मरु हिटी, सन्तानेश्वर महादेव, मरुबही, मिच्याः गल्ली, बन्जाःहिटी, साः (तेल मिल), सुन्तागल्ली, पाछैगल्ली, नरदेवी द्यःछेँ, आयुर्वेदिक अस्पताल, सामुदायिक (लोकेश्वर) गल्ली रहेका छन् । यसै गरी यसमा बुरांखेल, म्येछ्यों हिटी, तप्यँताँ, रञ्जित मल्ल सतः घाट, भेलु महादेव, डल्लु चौतारा, निपु हिटी (भीमसेन मन्दिर) पनि रहेका छन् ।