बर्डफ्लुको उद्गममै यस्तो हर्कत , बाटोमै फ्याँकियो मरेका कुखुरा


हेटौंडा, बर्डफ्लुको त्रास कायमै रहेको बेला पछिल्लो समय नेपालमा पहिलोपटक बर्डफ्लुको संक्रमण भेटिएको हेटौंडा–७, नागस्वती खहरेमा मरेको कुखुरा फ्याँकिएकोे भेटिएपछि स्थानीयमा त्रास झन् बढेको छ ।

सरकारले उक्त क्षेत्रका कुखुरा नष्ट गर्नुका साथै नमूना परीक्षणका लागि काठमाडौंस्थित परीक्षण केन्द्रमा पठाएको छ । नमूनाको रिपोर्ट आएपछि बर्डफ्लु देखिए त्यसवरिपरिको समेत कुखुरा नष्ट गरिने छ । तर, रिपोर्ट प्राप्त हुनुअघि नै मरेको कुखुरा यत्रतत्र फ्याँकिएकोे भेटिएपछि स्थानीयमा त्रास झन् बढेको हो ।

बर्डफ्लुबाट संक्रमित उक्त क्षेत्रमा मरेको करिब ५० वटा कुखुरा बिनासुरक्षा बगरमा फ्याँकिएको भेटिएपछि स्थानीय आक्रोशित भएका छन् । बर्डफ्लु न्यूनीकरणमा व्यबसायीहरु लाग्नुपर्ने समयमा उनीहरुले नै मानिसको स्वास्थ्यमाथि खेलवाड गरिरहेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

यस्तो कार्य गर्नेको पहिचान गरी कडा कारबाही गर्नुपर्ने स्थानीय सुशील सुबेदीले बताउनुभयो । मरेपछि फ््याँकिएका कुखुरालाई कुकुरले लैजाँदै गरेको देखिएको छ । ‘हेटौंडालगायत देशभर बर्डफ्लु प्रकोप बढिरहेको अबस्थामा यसलाई न्यूनीकरण गर्न किसान र व्यबसायी लाग्नुपर्ने बेला मरेका कुखुरा सार्वजनिक स्थानमा फ्याँक्दा प्रकोप बढ्छ,’ उहाँले जनताको जिउधनमाथि खेलवाड भएकोले यस्तो कार्य गर्नेको पहिचान गरी सामाजिक कारबाही गर्नुपर्ने भन्दै आक्रोश पोख्नुभयो ।

हेटौंडा–७ मा बर्डफ्लु भेटिएका कुखुराको खोरवरिपरि पालिएका हजारौं कुखुरा नष्ट गरिएका छन् । उक्त क्षेत्रका करिब ५० हजार कुखुरा नष्ट गरिएका हुन् । २५ वटा कुखुरा फर्मको कुखुरा र अण्डा नष्ट गरिएको हो ।

काठमाडौंबाट आएको पशु चिकित्सक, प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र हेटौंडाका प्राविधिहरुले कुखुरा खाल्डोमा पुरेर नष्ट गरेका हुन् । बर्डफ्लु देखा परेपछि बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकको निर्णयअनुसार कुखुरा नष्ट गर्ने अभियान थालिएको थियो ।

कुखुरा नष्ट गर्न डाक्टरसहित दर्जन बढी प्राविधिक कर्मचारी खटिएका थिए । मकवानपुरमा २०६९ साउन ३१ गते कुखुरामा बर्डफ्लुका जीवाणु फेला पर्दा ११ हजार कुखुरा मारिएको थियो ।

नागस्वतीका व्यावसायिक लेयर्स फर्मलाई केन्द्र मानी पूर्वतर्फ वडा नम्बर–६ र ७ को सिमाना, पश्चिममा बनदेवी मन्दिर जानेबाटोको पूर्वी सिमाना, उत्तरमा बनदेवी दुग्ध सहकारीको सिमाना बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सिमानाको परिधिभित्रका कुखुरा नष्ट गरिएका थिए ।