नयाँ वर्ष २०७६ को सुरुवात,आज सार्वजनिक विदा

0
Shares

काठमाडाैं ।

आज अर्थात आइतबारदेखि नयाँ वर्ष २०७६ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी नयाँ योजनाको संकल्प गर्ने गर्दछन् । नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरुले देश–विदेशमा रहेका समस्त नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै देशबासीका नाममा सम्बोधन समेत गर्ने कार्यक्रम छ ।

नयाँ बर्षको अवसरमा आज मुलुकभित्रका पर्यटकीय गन्तब्यहरुमा चहल पहल शरु भएको छ । काठमाडौंको ठमेल, चन्द्रागिरी, भक्तपुरको नगरकोट, काभ्रेको धुलिखेल, तनहुँको बन्दीपुर, लमजुङको घलेगाउँ र काउलेपानी, धरानको भेडेटार, इलामको कन्याम क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल शुरु भएको छ । नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, बिभिन्न स्थानमा घुम्न जाने, साथीसंगी भेला भएर रमाइलो गर्ने र मन्दिरमा गएर पूजा गर्ने नेपालीहरुको प्रचलन छ ।

नयाँ वर्षको दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो छ । पशुपतिनाथमा दर्शन एवम् पूजा आजा गर्नेहरुका लागि विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ वर्षको अवसरमा बूढानीलकण्ठ, वागमती नदीको उदगमस्थल वाग्द्वार, सपनतीर्थ र कीर्तिपुरस्थित चम्पादेवीमा मेला लागेको छ ।

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।