आठौँ राष्ट्रिय खेलकुदः खेलाडीलाई होटलकै अभाव



राष्ट्रिय खेलकूदअन्तर्गत दाङमा टेबलटेनिस र बास्केटबल प्रतियोगिता सञ्चालन भइरहँदा खेलाडी र खेलप्रेमीहरु भने उचित वसोवासको समस्यामा रहेका छन् । खेलकूदको लागि देशभरका सातवटै प्रदेशका खेलाडी, खेलसँग सम्बन्धित व्यक्ति र खेलप्रेमी दाङ आएका छन् ।

बुधबार र बिहीबार उद्घाटन भएका दुई खेल क्रमश टेबलटेनिस र बास्केटबल दुबै घोराहीमा सञ्चालन भइरहेका छन् । दुबै खेलमा देशभरबाट करीब दुई हजारदेखि दुई हजार २०० खेलसँग सम्बन्धित व्यक्ति यहाँ आएका छन् । दाङमा अन्य पाँचवटा खेलको औपचारिक उद्घाटन हुन बाँकी छ ।

जिल्ला खेलकूद विकास समितिका कोषाध्यक्ष कैलाश रोकामगरका अनुसार जिल्लामा आएका सबै प्रदेश र विभागीय समूहका खेलाडीलाई समितिले यहाँका विभिन्न ठूला तथा मध्यमस्तरका होटेलमा खान बस्नको व्यवस्था गरेको छ । सबै खेलाडीलाई सुविधासहितको होटलमा बसाउनका लागि मुस्किल भइरहेको छ ।

‘‘होटल थोरै भए, पाहुना धेरै भए’’ कोषाध्यक्ष रोकाले भन्नुभयो, “पाएक पर्ने ठाउँमा धेरै खेलाडी र खेलसँग सम्बन्धित व्यक्ति अटाउन सक्ने अवस्था छैन ।” लमही र तुलसीपुरमा हुने खेलमा त्यहाँ प्रर्याप्त होटल नहुँदा घोराही ल्याएर बसाउनुपर्ने बाध्यता छ ।

खेल खेल्नका लागि भौतिक पूर्वाधार र खेलमैदान तयार पारे पनि बाहिरबाट आउने पाहुनालाई सजिलै, सस्तो दरमा धेरै व्यक्ति राख्न मिल्ने होटल नहँुदा समस्या भएको उहाँको भनाइ छ । खेलकूद विकास समितिको जिम्मेवारीमा खेलाडीलाई होटेल व्यवस्थापनको काम गरिरहनुभएका बक्सिङ प्रशिक्षक सुमन घलेका अनुसार अहिले जिल्लामा खेलाडी र खेलसँग सम्बन्धितलाई मात्र पनि जिल्लामा बस्नका लागि होटेल पुगिरहेको छैन ।
भत्ता अपर्याप्त
राष्ट्रिय खेलकूद परिषद्ले प्रतिखेलाडी खान बस्नको लागि रु एक हजार ४०० दैनिक भत्ता उपलब्ध गराएको छ तर यहाँका केही होटलले सरकारले उपलब्ध गराएको भत्ताभन्दा पनि बढी पैसा मागेपछि समस्या भएको हो ।
अहिले प्रत्येक खेलका समूहलाई यातायातको लागि बसको सुविधा दिइएको छ । एउटा खेल सञ्चालन गर्दा कम्तीमा पनि २० वटा होटेलको आवश्यकता देखिएको जिल्ला खेलकूद विकास समितिको भनाइ छ ।

समितिले दिएको तथ्याङ्कअनुसार खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायलगायत सबै प्राविधिकसहित जिल्लामा सञ्चालन हुन लागेको एथ्लेटिक्समा ४०५ जना, कराँतेमा ३६३, टेबल टेनिसमा १८४ जना, ब्याडमिन्टनको लागि २१० जनालाई जिल्लाका होटेलमा राख्नुपर्ने अवस्था छ ।

त्यस्तै बास्केटमा ३०५ जना, क्रिकेटमा ४०१, फुटबलमा २५०जनालाई होटलमा बसाउनुपर्ने छ । त्यसमा पनि खेलाडीका आफन्त, अन्य खेलप्रेमी गरेर तोकिएको भन्दा झण्डै तीन गुणा पाहुना दाङ आएका छन् । अहिले घोराहीमा रहेका करीब दुई दर्जन बढी होटेल, लजमा खेलसँग सम्बन्धित भरिभराउ छन् ।

जिल्ला होटेल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगी भने आफूहरुसँग समन्वय नभएको कारण यहाँका धेरै होटेल खाली रहेको बताउनुहुन्छ । अन्य मध्यमस्तरका धेरै होटेल पनि खाली रहेको उहाँ बताउनुहुन्छ ।
अहिले घोराहीमा मात्रै खान, बस्नसहितको सुविधा भएको ठूला र मध्यमस्तरका ५१ वटा, तुलसीपुरमा एक दर्जन र लमही, बालुवाङमा आधादर्जन होटेल भएको उहाँले जानकारी दिनुभयो ।

 छट्टाछुट्टै स्थानमा सात खेल हँुदै  

जिल्ला खेलकूद विकास समितिले दिएको जानकारीअनुसार गत चैत २७ गतेदेखि शुरु भएको टेबलटेनिस चैत ३० गतेसम्म सञ्चालन हुँदैछ । यस्तै बुधबारदेखि शुरु भएको बास्केटबल प्रयोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ । वैशाख १ गतेदेखि ७ गतेसम्म घोराहीमा ब्याडमिन्टन खेल सञ्चालन हुनेछ भने वैशाख ५ गतेदेखि ९ गतेसम्म तुलसीपुरमा एथ्लेटिक्स् खेल सञ्चालन हुनेछ ।

तुलसीपुरमा नै वैशाख ६ गतेदेखि १० सम्म कराँते सञ्चालन हुनेछ भने घोराहीमा वैशाख ४ गतेदेखि महिला फुटबलको आयोजना हुँदैछ । यस्तै आउँदो वैशाख ४ गतेदेखि लमहीमा महिला क्रिकेट सञ्चालन हुनेछ । पहिलोपटक यसरी दाङमा राष्ट्रिय खेलकूद प्रतियोगिताका केही खेलहरुको आयोजना हुँदा यसबाट खेल पर्यटनको प्रवद्र्धनसमेत भएकामा जिल्लावासी खुशी देखिन्छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्